मङ्गलबार, २९ वैशाख २०८३
मङ्गलबार, २९ वैशाख २०८३ · समसामयिक
वीरगन्ज, वैशाख २९ । सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन्। पर्साको बहुदरमाई नगरपालिका–५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन्।
वीरगन्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत शन्नी नतिजा सार्वजनिक भएदेखि नै निकै निराश र चिन्तित देखिएका थिए। पारिवारिक स्रोतका अनुसार सोमबार राति करिब ११:३० बजे परिवारका सदस्यहरूले उनलाई सम्झाइबुझाई गरिरहेकै अवस्थामा उनी अचानक दौडिएर आफ्नो कोठामा छिरेका थिए। कोठाको ढोका फलामको भएकाले परिवारलाई भित्र पस्न समय लागेको र ढोका फुटाएर हेर्दा उनले तन्नाको पासो लगाएर प्राण त्यागिसकेको भेटिएको थियो।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थल पुगेर मुचुल्का उठाएको थियो। प्रहरीले शवलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। यो दुखद घटनापछि यतिबेला परिवार र स्थानीयवासी शोकमा डुबेका छन्।
एसईईको नतिजापछि विद्यार्थीहरूमा मानसिक तनाव र निराशा बढ्ने जोखिम हुने भन्दै मनोविद्हरूले यस्तो समयमा अभिभावकलाई आफ्ना सन्तानसँग निरन्तर संवाद गर्न, उनीहरूको कुरा सुन्न र घरमा सकारात्मक वातावरण बनाउन आग्रह गरेका छन्। परीक्षाको नतिजा नै जीवनको अन्तिम फैसला नभएको भन्दै बालबालिकालाई मानसिक दबाब नदिन शिक्षाविद्हरूले समेत सुझाव दिएका छन्।