शुक्रबार, ०४ वैशाख २०८३
सोमबार, २५ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २५ । सोमबार बिहानसम्म निर्वाचन आयोगले ८१ लाख ६४ हजार ९ सय २३ मत गणना गरिसकेको छ । कुल खसेको मतमध्ये झण्डै तीन चौथाइ मतको गणना सकिएको हो ।
अहिलेसम्म भएको मतगणनाका आधारमा रास्वपा, कांग्रेस, एमाले, नेकपा राप्रपा र श्रम संस्कृति पार्टीले थ्रेसहोल्ड कटाएका छन् । तर राप्रपा र श्रम संस्कृति पार्टीको थ्रेसहोल्ड अहिले पनि जोखिममै छ ।
समानुपातिकतर्फका १ सय १० सिटको बाँडफाँट मत प्रतिशतका आधारमा गणना हुन्छ। जसका लागि कुल समानुपातिक मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्छ ।
कुल १ करोड ८९ लाख मतदाता रहेकोमा देशभरि ५८.०७ प्रतिशत मत खसेको आयोगले जनाएको छ । यो भनेको करिब १ करोड १० लाख मत हो ।
यसरी हेर्दा अब २८ लाख ३५ हजार मत गन्न अझै बाँकि छ । गणना गर्न बाँकी २८ लाख मतमा श्रम संस्कृति र राप्रपाको अनुपात घटेर तीन प्रतिशत भन्दा कम भएमा भने उनीहरु थ्रेसहोल्ड नकटेका कारण सिट पाउन अयोग्य रहेकाले अहिले पनि उनिहरु जोखिममै देखिन्छन् ।
अहिलेसम्म रास्वपाले ३९ लाख ३८ हजार मत पाएको छ । जुन करिव साढे ४८ प्रतिशत हो । यसका आधारमा हेर्दा रास्वापाले ५८ सिट पाउनेछ ।
त्यसैगरि नेपाली कांग्रेसले १३ लाख २७ हजार मत पाएको छ । यो भनेको कुल गणना भएको मतको १६ प्रतिशत हो । यसका आधारमा हेर्दा कांग्रेसले २० सिट पाउने देखिन्छ ।
अहिलेसम्म भएको गणनामा एमालेले ११ लाख २५ हजार समानुपातिक मत पाएको छ । यो भनेको १३ दशलमव सात आठ प्रतिशत हो । यसका आधारमा हेर्दा उसले १६ सिट पाउने देखिन्छ ।
नेपाली कम्यूनिष्ट पार्टीले अहिलेसम्म ५ लाख ७८ हजार मत पाएको छ । करिव सात प्रतिशत मत पाएको नेकपाले ८ सिट पाउने देखिन्छ ।
श्रम संस्कृति पार्टीको २ लाख ८५ हजार मत छ । उसले ४ सिट पाउने देखिन्छ भने राप्रपाले २ लाख ७२ हजार मत पाएकाले यसले पनि ४ सिट पाउने देखिन्छ । तर कुल मतगणना हुँदा श्रम सस्कृति र राप्रपा दुबैले ३ प्रतिशत थ्रेस होल्ड कटाउनुपर्छ ।