आइतबार, १३ मंसिर २०८३
शुक्रबार, २२ फागुन २०८२ · समसामयिक
काठमाडौं, फागुन २२
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी कर्मचारीहरूले निर्वाह गर्दै आइरहेको भूमिका उत्कृष्ट रहेको चर्चा गर्दै आगामी दिनमा समेत सबै प्रहरी कर्मचारीहरूले निष्ठावान्, इमानदार भई अझ उच्च अनुशासन एवम् व्यावसायिकता प्रदर्शन गर्न जरूरी रहेको बताएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान पश्चात अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुमा शुक्रबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताएका हुन ।
प्रहरी महानिरीक्षक कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान प्रक्रियालाई शान्तिपूर्ण, भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरूले उच्च मनोबलका एवम् जिम्मेवारीबोधका साथ प्रदर्शन गरेको व्यावसायिकता प्रशंसनीय रहेको बताए । सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावनाका साथ निर्वाचनको समयमा प्राप्त आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको समेत उनले बताए ।
प्रहरी महानिरीक्षक कार्कीले मतगणनास्थलमा देखा देखापर्न सक्ने सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी आवश्यक सुरक्षा रणनीति सहित प्रभावकारी प्रहरी परिचालनमा विशेष सतर्कता अपनाउन निर्देशन दिए । मतगणनास्थल, मतगणनाको परिणाम एवम् विजयी दलको ¥याली, जुलुस लगायतका क्रियाकलापमा कुनै पनि त्रुटि नहुने गरी थप संवेदनशील भई कार्य गर्न समेत उनले जोड दिए । सामाजिक सञ्जालमा गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषणमा संलग्नलाई कानुनी दायरामा ल्याउन थप सक्रिय रूपमा प्रस्तुत भई कार्य गर्नुपर्ने उनले बताए ।
प्रहरी महानिरीक्षक कार्कीले कुनै पनि अवाञ्छित गतिविधिमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहरी कर्मचारीहरू थप क्रियाशील हुन निर्देशन दिए । साथै सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोग एवम् प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा समेत आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिवद्ध भई कार्यसम्पादन गर्न उहाँले निर्देशन दिए । निर्वाचन प्रहरीप्रति सबै प्रहरी कर्मचारीहरूले अझ उत्कृष्ट आचरण एवम् व्यवहार प्रस्तुत गर्नुपर्ने बताउँदै उनीहरूको उचित व्यवस्थापन तथा प्राप्त गर्ने सेवा सुविधामा कुनै पनि कमिकमजोरी नहुने गरी कार्य गर्न समेत उहाँले आग्रह गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालय सम्मका निर्वाचन सेलका प्रमुख तथा प्रतिनिधिहरू एवम् थप मद्दतका रूपमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लगायत अन्य प्रहरी अधिकृतहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
मोरङ, फागुन २२
विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम १ सय मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका–८ बस्ने २६ वर्षीय अनिल प्रधानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु
काठमाडौं, फागुन २२
काठमाडौं महानगरपालिका–४ बाफलस्थित सडक छेउमा पार्किङ गरी राखेको लु.२ ख २५७६ नम्बरको टिपरमा बा. प्र.०१–०२७ च ७३७२ नम्बरको कार ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा कार चालक काठमाडौं टेकु बस्ने रामेछाप घर भएका १८ वर्षीय मनिष परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर चालकको खोजी गरिरहेको छ ।
ओखलढुङ्गाको मानेभञ्जयाङ गाउँपालिका–६ हिलेपानीस्थित सडकमा थाक्ले स्वास्थ्य चौकीबाट हिलेपानीतर्फ जाँदै गरेको बा.९६ प ३३११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–६ हिलेपनी बस्ने ४६ वर्षीय धनुस राईको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको जनसेवा हेल्थ केयर घुर्मी उदयपुरमा उपचार भइरहेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–९ चौकीबारीस्थित सडकमा मुर्कुचीबाट गाईघाटतर्फ आउँदै गरेको कोशी प्र.०५–००२ प २३८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–७ खोरिया बस्ने ४५ वर्षीय राजन राईको बिहीबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
पर्साको वीरगंज महानगरपालिका–२५ चंडाल चोकमा म.प्र.०३–०२८ प ७७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा मोटसाइकल चालक बिन्दबासिनी गाउँपालिका–३ बस्ने ४५ वर्षीय सिकिन्द्र राम र मोटरसाइकलमा सवार ३५ वर्षीय लालदेव रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कास्कीको पोखरा महानगरपालिका–३० नहरचोकस्थित सडकमा ग.३ च ३३३० नम्बरको गाडी र ग.२५ प २३६८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक लमजुङ सुन्दरबजार नगरपालिका–४ बस्ने ३५ वर्षीय गणेश अविलासी अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
सप्तरी, फागुन २२
राजगढ गाउँपालिका–३ नर्घो कट्टी टोलस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ४० वर्षीया किना देवी सदाको बिहीबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा
काठमाडौं, फागुन २२
काठमाडौंको तारकेश्वर नगरपालिका–१ चिमरपोखरीस्थित निलु जुत्ता कारखानामा काम गरी बस्ने धादिङ थाक्रे गाउँपालिका–११ घर भएका ४२ वर्षीय नबिन भन्ने पुर्ण बहादुर सुनार सोही कारखानामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ कल्याणटार बलटोल बस्ने २३ वर्षीय सुरेन बल सोही ठाउस्थित काँस घारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।