शुक्रबार, १८ वैशाख २०८३
शुक्रबार, १८ वैशाख २०८३ · समसामयिक
काठमाडौं, बैशाख १८
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने तेह्रथुम घर भएका ४० वर्षीय सुरज पंधाक लिम्बु, सोलुखुम्बु घर भएका ४६ वर्षीय कमल बहादुर पुलामी मगर, काठमाडौं महानगरपालिका–१२ बस्ने काभ्रे घर भएका ३९ वर्षीय बिनोद थापा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका बस्ने सोलुखम्बु घर भएका २९ वर्षीय सागर शेर्पा, काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बस्ने सिन्धुपाल्चोक घर भएका ५६ वर्षीय सूर्य प्रसाद कोइराला, काठमाडौं महानगरपालिका–३२ बस्ने काभ्रे घर भएका २६ वर्षीय प्रल्हाद खत्री र ३३ वर्षीय सरोज गौतम रहेका छन् ।
पक्राउ मध्ये सुरज र कमल बहादुरले जापान पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट १ करोड २ लाख रूपैयाँ, बिनोदले कोरिया पठाइदिन्छु भन्दै २६ जना पीडितहरूबाट १ करोड ५० लाख रूपैयाँ, सागरले फ्रान्स पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २८ लाख रूपैयाँ, सूर्य प्रसादले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, प्रल्हादले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रूपैयाँ र सरोजले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरजलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बाट, कमल बहादुरलाई काठमाडौं महानगरपालिका–३१ बाट, सागरलाई काठमाडौं जोरपाटीबाट, प्रल्हाद र सरोजलाई काठमाडौं महानगरपालिका–३२ बाट बुधबार तथा बिनोदलाई काठमाडौं महानगरपलिका–१२ र सूर्य प्रसादलाई काठमाडौं महानगरपालिका–७ बाट बिहीबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये सुरज र कमल बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने बिनोद, सागर, सूर्य प्रसाद, प्रल्हाद र सरोजलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।