सोमबार, १५ भदौ २०८३
मङ्गलबार, २६ फागुन २०८२ · समसामयिक
रुकुम, फागुन २६ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३ स्थित सानीभेरी नदीको किनारमा मंगलबार दुई जना किशोरीको शव फेला परेको छ। बाँफीकोट–३ कै गर्लागोठ निवासी १४ वर्षीया उर्मिला ओली र १२ वर्षीया कल्पना ओलीको शव नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाँफीकोट–३ काे भागले नजिकै सानीभेरी नदीको किनारमा दुईवटा शवहरू करिब ५०० मिटरको अन्तरालमा फेला परेका हुन्। उनीहरूसँगै गएकी अर्की १२ वर्षीया सपना ओली अझै बेपत्ता छिन्। प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार, यी तीनै जना किशोरी सोमबार छिमेकीको विवाहमा गएका थिए। विवाहबाट घर फर्कने क्रममा नदीले बगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यद्यपि, घटनाको यकिन कारण भने अझै खुल्न सकेको छैन।
अहिले प्रहरी निरीक्षक पुनकै नेतृत्वमा र छिन्खेतस्थित अस्थायी प्रहरी पोस्टको टोलीले घटनास्थलमा पुगेर थप अनुसन्धान र बेपत्ताको खोजी गरिरहेको छ।