logo-image

शुक्रबार, ०४ वैशाख २०८३

पाँच राजनीतिक दलले पाउने भए राष्ट्रिय दल को मान्यता

सोमबार, २५ फागुन २०८२ · राजनीति

पाँच राजनीतिक दलले पाउने भए राष्ट्रिय दल को मान्यता

काठमाडौं, फागुन २५ । गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपालमा पाँचवटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने निश्चित देखिएको छ। निर्वाचन कानुनअनुसार राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने र समानुपातिकतर्फ कुल सदर मतको न्यूनतम तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने अनिवार्य प्रावधान रहेको छ।

यसै आधारमा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२५ प्रत्यक्ष सिट र ४३ लाख १९ हजार ८३५ समानुपातिक मतका साथ पहिलो शक्तिको रूपमा उदाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ प्रत्यक्ष सिट र १४ लाख ३५ हजार ८७० समानुपातिक मत प्राप्त गरेको छ भने नेकपा (एमाले) ८ प्रत्यक्ष सिट र १२ लाख १३ हजार १३९ समानुपातिक मतसहित तेस्रो स्थानमा रहेको छ। त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीले ७ सिट र ६ लाख ९ हजार ८४७ समानुपातिक मत प्राप्त गरी चौथो स्थान सुरक्षित गरेको छ।

यस निर्वाचनमा 'श्रम संस्कृति पार्टी' ले ३ प्रत्यक्ष सिट र ३ लाख १० हजार ९० समानुपातिक मत प्राप्त गर्दै पाँचौँ राष्ट्रिय दलको रूपमा ऐतिहासिक सफलता हात पारेको छ। तर, यसअघि राष्ट्रिय दल रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी (जसपा) ले भने यसपटक आवश्यक मत पुर्‍याउन नसक्दा आफ्नो साख गुमाउने जोखिम बढेको छ।

राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने यस्ता राजनीतिक दलहरूले राज्यबाट विभिन्न संस्थागत र भौतिक सुविधाहरू प्राप्त गर्ने कानुनी व्यवस्था छ। राष्ट्रिय दलको हैसियत पाएका प्रत्येक दललाई संघीय संसद् सचिवालयले छुट्टै संसदीय दलको कार्यालय उपलब्ध गराउँछ। यसका साथै, सम्बन्धित दलको सांसद संख्याका आधारमा सचिवालयले आवश्यक कर्मचारी र वित्तीय सहयोग समेत प्रदान गर्दछ।

थप सुविधाहरू अन्तर्गत, प्रत्येक राष्ट्रिय दलको संसदीय दलका प्रमुख सचेतकले संसद् सचिवालयबाट विशेष सुविधाहरू प्राप्त गर्दछन्, जसमा सरकारी सवारी साधन, छुट्टै कार्यालय कक्ष र प्रशासनिक कर्मचारीहरूको सुविधा समावेश हुन्छ। यस्ता सुविधाहरूले राष्ट्रिय दलहरूलाई सदनभित्र आफ्ना संसदीय गतिविधिहरू थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत पुर्‍याउँछन्।