बिहिबार, २९ असोज २०८३
बिहिबार, २१ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २१ । जेनजी आन्दोलनपछिको विशेष राजनीतिक परिस्थितिमा आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ।
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिको यो तेस्रो आम निर्वाचन हो, जसमा ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदानको व्यवस्था गरिएको छ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र नभएका व्यक्तिका लागि वैकल्पिक व्यवस्था गरेको छ। त्यस्ता मतदाताले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रति देखाएर मतदान गर्न पाउनेछन्। साथै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र गर्भवतीलाई मतदानमा विशेष प्राथमिकता दिइने आयोगले जनाएको छ।
यस पटक प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिट गरी कुल २७५ सदस्य चयनका लागि १ करोड ८९ लाखभन्दा बढी मतदाताले मतदान गर्दैछन्। प्रत्यक्षतर्फ ३ हजार ४०६ र समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
निर्वाचनलाई स्वच्छ र सुरक्षित बनाउन देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्रहरू निर्धारण गरिएका छन्। सुरक्षाका लागि करिब ३ लाखको हाराहारीमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी) र २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका र गर्भवती महिलालाई मतदानमा प्राथमिकता दिने विशेष व्यवस्था गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री सुशीला कार्कीले यस ऐतिहासिक अवसरमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण नागरिकलाई आह्वान गर्नुभएको छ।