शुक्रबार, ०४ वैशाख २०८३
आइतबार, २४ फागुन २०८२ · राजनीति
धनुषा, फागुन २४ । निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम घोषणा नगर्ने निर्णय गरेको छ। आयोगले आजै धनुषा–१ को निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गर्दै अदालतको आदेश नआएसम्म परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको हो।
आयोगले यसअघि फागुन १८ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको प्रमाण भेटिएपछि आयोगले सो कदम चालेको थियो।
उम्मेदवारी खारेजीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भई हाल विचाराधीन अवस्थामा रहेको छ। आयोगका शाखा अधिकृत (कानून) अरुण अधिकारीका अनुसार अदालतबाट अन्तिम आदेश नभएसम्म पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम घोषणा नगर्नु/नगराउनु भनी आयोगले पत्रमार्फत स्पष्ट पारेको छ।
सर्वोच्चको आदेशपछि मात्रै यस क्षेत्रको चुनावी अन्योल हट्ने र मतगणनाको नतिजाले वैधानिकता पाउने देखिएको छ।