logo-image

बुधबार, २८ असोज २०८३

देशभर रास्वपाको पक्षमा जनलहर

शुक्रबार, २२ फागुन २०८२ · राजनीति

देशभर रास्वपाको पक्षमा जनलहर

काठमाडौं, फागुुन २२
देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर देखिएको छ । हालसम्मको मतपरिणाम अनुसार रास्वपाले ४१, काँग्रेसले ३, एमालले ५ र नेकपाले २ स्थानमा अग्रता लिएको छ । 
जसमध्ये कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणाम अनुसार शाहले एक हजार आठ सय ९० मत ल्याएका छन् ।शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले पाँच ९१ मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका वीरेन्द्र कनौडियाले चार सय ५९ मत प्राप्त गरेका छन् । धनुषा–१ मा भने रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी गत फागुन १८ गते आयोगले खारेज गरेको थियो । विरुद्धमा साहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यद्यपि साहको उम्मेदवारी खारेजी भएको कारण घन्टी चिह्नमा परेको मतलाई सदर वा बदर के मानेर गणना गर्ने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग सुझाव माग गरिएको छ ।
दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठकले फराकिलो मतका साथ अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार पाठकले दुई हजार तीन सय ८१ मत ल्याएका छन् । पाठकलाई नेपाली कांग्रेसका योगेन्द्र चौधरीले पाँच सय ७१ मत ल्याएर पछ्याइरहेका छन् ।
नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले तीन सय ४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मेटमणि चौधरीले दुई सय ३९ मत ल्याएका छन् ।
चितवन क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता कायमै राखेका छन् । यहाँ लामिछानेले तीन हजार दुई सय ६५ मत ल्याउँदा नेकपा एमालेका अस्मिन घिमिरे एक हजार पाँच सय १९ मतका साथ दोस्रो स्थानमा छन् । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङ एक हजार दुई सय ६० मतका साथ एमालेका उम्मेदवारलाई पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसकी मीना खरेल एक हजार ९४ को मतसहित चौथो स्थानमा छिन् ।
चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै राखेकी छन् । मतगणनाको पछिल्लो नतिजाअनुसार सोविताले दुई हजार चार सय ८५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले एक हजार सात सय ८६ मत पाएकी छन् ।
रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् । प्रारम्भिक मतगणना अनुसार दुई हजार छ सय ३५ मत गणना गर्दा प्रचण्डले एक हजार चार सय १५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले चार सय ३१ मतका साथ पछ्याइरहेका छन् ।
ललितपुर–१ मा भने नेपाली कांग्रेसका उदयशम्शेर जबराले अग्रता लिएका छन् । जबराले एक हजार पाँच सय ५१ मत पाउँदा दोस्रो स्थानमा रहेका रास्वपाका बुद्धरत्न महर्जनले सात सय १० र तेस्रो स्थानमा रहेका एमालेका चेतनाथ सञ्जेलले पाँच सय ९५ मत पाएका छन् । नेकपाका सुनिल महर्जनले एक सय ६८ मत पाएका छन् ।