logo-image

सोमबार, १८ जेठ २०८३

बुटवल–नारायणगढ सडक तेस्रो दिन पनि अवरुद्ध

आइतबार, ०८ चैत २०८२ · समसामयिक

बुटवल–नारायणगढ सडक तेस्रो दिन पनि अवरुद्ध

नवलपरासी, चैत्र ८ । गत शुक्रबारदेखि अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्ड तेस्रो दिन पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा हिउँदे वर्षापछि सडक हिलो र चिप्लो हुँदा यातायात सेवा नराम्ररी प्रभावित भएको हो।

प्रहरीका अनुसार, वर्षा रोकिए पनि दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा विशेष गरी घिउखोला र विश्वकर्मा मन्दिर आसपासको उकालो सडकमा सवारी साधनहरू चिप्लिएर बीच बाटोमै फसिरहेका छन्। हाल पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनहरू ठप्प छन् भने पश्चिमबाट पूर्वतर्फ जाने सवारीहरू निकै कष्टपूर्ण रूपमा केही मात्रामा सञ्चालन भइरहेका छन्।

यस अवरोधका कारण लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारी साधनहरू तीन दिनदेखि सडकमै रोकिँदा हजारौँ यात्रु र चालकहरू अलपत्र परेका छन्। सडक विस्तारको काम जारी रहेको यस खण्डमा सामान्य वर्षामा पनि लेदो बग्ने र सडक बिग्रिने समस्या दोहोरिँदै आएको छ। नारायणगढ–बुटवल सडक आयोजनाले हाल अवरुद्ध सडक मर्मत र सुधारको प्रयास गरिरहेको जनाएको छ। अवस्थालाई मध्यनजर गर्दै आयोजना कार्यालयले चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७:०० बजेदेखि बिहान ५:०० बजेसम्मका लागि ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ, जसका कारण साना तथा आकस्मिक सेवाका सवारी साधन समेत प्रभावित भएका छन्।

ताजा समाचार