logo-image

बुधबार, ३१ असार २०८३

दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई विद्रोह को मुद्दामा आजीवन कारावास सुनाइएकोमा अपील दायर

बिहिबार, १४ फागुन २०८२ · अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई विद्रोह को मुद्दामा आजीवन कारावास सुनाइएकोमा अपील दायर

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई विद्रोह (इन्सररेक्सन) को मुद्दामा आजीवन कारावासको सजाय सुनाइएकोमा विशेष अभियोजक (स्पेसल काउन्सेल) ले बुधवार उच्च अदालतमा अपील दायर गर्नुभएको छ । यो अपील युनलाई दिइएको सजाय तथा अदालतको तथ्यगत निष्कर्ष र कानुनी व्याख्यामा चासो व्यक्त गर्दै गरिएको हो । विशेष अभियोजकले यो अपीलले दोषी ठहरिएका सबै व्यक्तिहरूको दोष र सजाय दुवैलाई समेटेको बताएका छन् । अभियोजन पक्षकाअनुसार युन तथा अन्य अभियुक्तहरूले सन् २०२४ डिसेम्बरमा छोटो समयका लागि घोषणा गरिएको मार्सल ल (सैन्य शासन) मार्फत संवैधानिक व्यवस्थालाई कमजोर पार्ने प्रयास गरेका थिए । युनलाई अभियोजन पक्षले यो घटनाको मुख्य योजनाकारको रूपमा चिनाएको छ । सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले उनलाई यसअघि आजीवन कारावासको सजाय सुनाएको थियो । विशेष अभियोजकले आरोपको गम्भीरता र देशको लोकतान्त्रिक प्रणालीमा परेको प्रभावलाई ध्यानमा राख्दै उच्च अदालतबाट थप न्यायिक समीक्षा आवश्यक रहेको तर्क गरेका छन् । युनमाथि युद्ध, आक्रमण वा त्यस्तै राष्ट्रिय संकट नभई असंवैधानिक रूपमा आपतकालीन मार्सल ल घोषणा गरेको, राष्ट्रिय सभाको मार्सल ल हटाउने प्रस्तावलाई रोक्न मार्सल ल फौज र प्रहरी परिचालन गरेको तथा मुख्य राजनीतिक दलका नेता तथा संसद् सभामुख जस्ता व्यक्तिहरूलाई हिरासतमा राख्ने प्रयास गरेको आरोप लागेको छ । युनले २०२४ डिसेम्बर ३ तारिख राति मार्सल ल घोषणा गरेका थिए । तर केही घण्टामै राष्ट्रिय सभाले त्यसलाई खारेज गरिदिएको थियो । संवैधानिक अदालतले २०२५ अप्रिलमा युनविरुद्ध महाअभियोगको प्रश्तावलाई सदर गर्दै उनलाई पदबाट हटाएको थियो । २०२५ जनवरीमा युनलाई विद्रोहको मुख्य योजनाकारको रूपमा हिरासतमा राखेर अभियोग लगाइएको थियो । जसले उनलाई इतिहासमा पहिलो पटक पदमा रहँदा पक्राउ परेका तथा अभियोग लागेका राष्ट्रपति बनाएको थियो ।यो घटनाले दक्षिण कोरियाको लोकतन्त्रमा ठूलो संकट सिर्जना गरेको थियो । तर राष्ट्रिय सभाको तत्काल कदमले मार्सल ललाई छोटो समयमै अन्त्य गरिदिएको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।