logo-image

बिहिबार, ०३ वैशाख २०८३

काठमाडौँको हावा निकै अस्वस्थ, एक्युआई २०० नाघ्यो

मङ्गलबार, २६ फागुन २०८२ · जिवनशैली

काठमाडौँको हावा निकै अस्वस्थ, एक्युआई २०० नाघ्यो

काठमाडौं, फागुन २६ । काठमाडौं को वायु प्रदूषण अहिले 'अत्यन्तै अस्वस्थकर' अवस्थामा पुगेको छ, जहाँ वायु गुणस्तर सूचकाङ्क २०४ नाघेर यो विश्वकै दोस्रो प्रदूषित सहर बनेको छ। विशेषगरी २०० माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ । 

विश्व स्वास्थ्य संगठनले यसलाई 'साइलेन्ट किलर' मानेको छ, किनकि यसले फोक्सोको क्यान्सर, दम, मुटुको रोग र स्ट्रोक जस्ता ज्यानै लिने समस्या निम्त्याउँछ। विशेष गरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका बिरामीहरू यसको उच्च जोखिममा छन्। यस्तो अवस्थामा जोगिनका लागि अनिवार्य रूपमा मास्क प्रयोग गर्न, अनावश्यक रूपमा घरबाहिर ननिस्कन, झ्यालढोका थुनेर राख्न र प्रदूषण बढाउने खालका क्रियाकलाप नगर्न स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्।

काठमाडौँमा बढ्दो सवारी साधनको चाप, देशका विभिन्न भागमा लागिरहेको डढेलो तथा आकाश धुम्म भएर वर्षा नपर्दा हावा थप दूषित बन्दै गएको विज्ञहरूले बताएका छन् । मन्त्रालयका अनुसार यो हप्ताभर काठमाडौँ उपत्यकामा प्रदूषणको अवस्था कायम रहने सम्भावना रहेको छ । आज पनि काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि बादलले ढाकिएको छ ।