बुधबार, ३१ असार २०८३
मङ्गलबार, ०३ चैत २०८२ · अन्तर्राष्ट्रिय
लस एन्जलस, चैत ३ । हलिउडका प्रतिभाशाली अभिनेता माइकल बी. जोर्डनले ९८औँ एकेडेमी अवार्ड (ओस्कार) मा आफ्नो करिअरको पहिलो सर्वश्रेष्ठ अभिनेताको अवार्ड जितेर नयाँ इतिहास रचेका छन्।
रायन कुग्लरको निर्देशनमा बनेको फिल्म ‘सिनर्स’ मा ‘स्मोक’ र ‘स्ट्याक’ नामक जुम्ल्याहा दाजुभाइको दोहोरो भूमिकाका लागि उनले यो प्रतिष्ठित सम्मान हात पारेका हुन्। अवार्ड जितेको केही समयमै जोर्डन हातमा ओस्कार ट्रफी लिएर 'इन-एन-आउट' बर्गर पसल पुगेर "डबल-डबल" अर्डर गर्दै आफ्नो जितको उत्सव मनाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
ओस्कारको मुख्य अभिनेता श्रेणीमा अवार्ड जित्ने छैटौँ अश्वेत अभिनेता बनेका जोर्डनले अवार्ड ग्रहण गर्दै सिड्नी पोइटियर, विल स्मिथ र डेंजेल वासिङ्टन जस्ता दिग्गजहरूलाई सम्झिए। उनले टिमोथी चालमेट (मार्टी सुप्रिम), लियोनार्दो डिकाप्रियो (वान ब्याटल आफ्टर एदर), इथान हक र वाग्नर मौरा जस्ता कडा प्रतिस्पर्धीहरूलाई पछि पार्दै यो सफलता पाएका हुन्। १९३० को दशकको पृष्ठभूमिमा बनेको ‘सिनर्स’ ले कीर्तिमानी १६ विधामा ओस्कार मनोनयन पाउनुका साथै विश्वव्यापी रूपमा ३७० मिलियन डलरको सानदार व्यापार समेत गरेको छ।
३९ वर्षीय जोर्डनले मोडलिङ र ‘द वायर’ जस्ता टेलिभिजन सिरिजबाट सुरु गरेको यात्रा अहिले ओस्कार विजेतासम्म पुगेको छ। ‘क्रिड’ र ‘ब्ल्याक प्यान्थर’ मार्फत विश्वभर लोकप्रिय बनेका जोर्डनले फिल्ममा जुम्ल्याहा पात्रको स्वभाव र बाल्यकालको चोटलाई फरक ढंगले देखाउन गरेको कडा मिहिनेतको अहिले सर्वत्र प्रशंसा भइरहेको छ। ओस्कार जस्तो गरिमामय पुरस्कार जितेपछि पनि सामान्य मानिस झैँ फास्ट फुड रेस्टुरेन्ट पुगेर उनले खुसी साटेका थिए।