logo-image

बुधबार, ३१ असार २०८३

इन्दौरमा इलेक्ट्रिक कार चार्ज गर्दा विस्फोट हुँदा ७ जनाको मृत्यु, ३ गम्भीर घाइते

बुधबार, ०४ चैत २०८२ · अन्तर्राष्ट्रिय

इन्दौरमा इलेक्ट्रिक कार चार्ज गर्दा विस्फोट हुँदा ७ जनाको मृत्यु, ३ गम्भीर घाइते


इन्दौर (भारत), चैत्र ४ । भारतको मध्य प्रदेशस्थित इन्दौरमा बुधबार बिहान एक दुःखद दुर्घटना भएको छ। घरबाहिर विद्युतीय कार चार्ज गर्ने क्रममा भएको विस्फोट र त्यसपछिको आगलागीमा परी एकै परिवारका ७ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।

बीबीसी हिन्दीका अनुसार बुधबार बिहान करिब ४ बजे पुगलिया परिवारको घरबाहिर कार चार्ज भइरहेका बेला उक्त दुर्घटना भएको हो। इन्दौरका प्रहरी आयुक्त सन्तोष कुमार सिंहका अनुसार प्रारम्भिक अनुसन्धानले चार्जिङ पोइन्टमा भएको सर्ट सर्किटका कारण कारमा आगो सल्किएको देखाएको छ।

कारको आगो केही मिनेटमै घरभित्र फैलियो, जहाँ ठुलो संख्यामा ग्यास सिलिन्डरहरू भण्डारण गरिएको थियो। घरमा रहेका करिब १५ वटा सिलिन्डरमध्ये कम्तीमा चारवटा एकपछि अर्को गर्दै विस्फोट भएका थिए। प्रत्यक्षदर्शीका अनुसार विस्फोट यति शक्तिशाली थियो कि घरको एक भाग पूर्ण रूपमा भत्कियो, जसका कारण भित्र रहेका सदस्यहरूले ज्यान जोगाउन भाग्ने मौका समेत पाएनन्।

घाइतेहरूको अवस्था निकै चिन्ताजनक रहेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।