logo-image

बुधबार, ३१ असार २०८३

इजरायल र इरान युद्ध सुरु

शनिबार, १६ फागुन २०८२ · अन्तर्राष्ट्रिय

इजरायल र इरान युद्ध सुरु

काठमाडौं, फागुन १६

सरकारले भन्यो : सावधानी अपनाउनू, घरभित्रै बस्नू
इजरायल र इरान युद्ध सुरु भएपछि परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै इजरायल र इरानमा रहेका नेपालीलाई सावधानी अपनाउन आग्रह गरेको हो । 
सरकारका तर्फबाट परराष्ट्रले इजरायल र इरानमा रहेका नेपालीहरूलाई त्यहाँका सम्बन्धित सरकारी निकायले जारी गरेका सुरक्षा निर्देशन र परामर्शहरू कडाइका साथ पालना गर्न भनेको छ । सकेसम्म घरभित्रै बस्न, सतर्क रहन, अनावश्यक आवतजावत नगर्न तथा आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरिएको छ । यसैगरी सम्बन्धित देशका अधिकारीको पूर्वस्वीकृति बिना यात्रा नगर्न मन्त्रालयले निर्देशन दिएको छ । इजरायल वा इरान जाने योजना बनाएका नेपाली नागरिकलाई हालको अवस्था सामान्य नभएसम्म यात्रा स्थगित गर्न पनि आग्रह गरिएको छ ।
मन्त्रालयले काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेल अवीवस्थित नेपाली दूतावास तथा दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन अनुरोध गरेको छ । अमेरिका र इजरायलले इरानमाथि भीषण हमला गरेपछि इरानले पनि इजरायलका साथै मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा जवाफी हमला सुरु गरेको छ । इजरायल र अमेरिकाले शनिबार इरानको राजधानी तेहरानमा गरेको भीषण सैन्य आक्रमणपछि तेहरानले जवाफी हमला गरेको हो । तेहरानले इजरायलमा सयौँ मिसायल एकैपटक प्रहार गर्दा अमेरिकाका मध्यपूर्वमा रहेका सैन्य बेसमा पनि उसले मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
इरानले इजरायलमाथि प्रत्याक्रमण सुरु गर्दा चार सय क्षेप्यास्त्र प्रहार गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जानकारी दिएका छन् । इरानले इजरायल मात्र होइन, कतार, बहाराइन र युएईमा रहेका अमेरिकी सैन्य बेसहरूलाई पनि निशाना बनाएको छ । यसअघि इजरायलले इरानको गुप्तचर मन्त्रालय, रक्षा मन्त्रालय, सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको कार्यालय तथा इरानको परमाणु ऊर्जा संगठनलाई लक्षित गरी आक्रमण गरेको थियो । आक्रमणपछि खामेनीले तेहरान छाडेका छन् । उनलाई सुरक्षित स्थानमा लगिएको दाबी गरिएको छ ।
इजरायलले इरानविरुद्ध सुरु गरेको नयाँ अभियानलाई ‘लायन्स रोअर’ (शेरको गर्जन) नाम दिएको छ । अल जजिराले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यो अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही भएको जनाएको छ । 
यो आक्रमण इरान र अमेरिकाबीच आणविक हतियारसम्बन्धी वार्ता चलिरहेका बेला भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानमाथि आक्रमण गर्ने चेतावनी दिँदै १० दिनभित्र सहमतिमा आउन अल्टिमेटम दिएका थिए । उनका अनुसार यो कदम अमेरिकालाई र उसका नागरिकलाई सम्भावित खतराबाट जोगाउन चालिएको हो । ट्रम्पले अमेरिकी सेनाले इरानका क्षेप्यास्त्र ध्वस्त पार्ने र उसको मिसाइल कार्यक्रम समाप्त पार्ने प्रयास गरिरहेको पनि बताएका छन् । बेलायती पत्रिका द गार्जियनका अनुसार इरानी सर्वोच्च नेता खामेनीले तेहरानबाट सुरक्षित स्थानमा लगिएको दाबी गर्दा रोयटर्स र न्युयोर्क टाइम्सले अमेरिका र इजरायलका आक्रमणहरूको मुख्य लक्ष्य इरानी अधिकारीहरू रहेका जनाएका छन् । 
यसैगरी रोयटर्सका अनुसार युएईको राजधानी अबुधाबीबाट ठूलो विस्फोटको आवाज सुनिएको छ । अधिकांश मध्यपूर्वका एयरस्पेशहरु बन्द गरिएका छन् । इरानले इजरायली आक्रमणको जवाफस्वरूप मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण सुरु गरेको जनाइएको छ । कतार र बहराइनपछि युएईस्थित अमेरिकी सैन्य आधारलाई पनि निशाना बनाइएको बताइएको छ । युएईमा रहेको उक्त अमेरिकी सैन्य अड्डाको नाम अल दफ्रा एयर स्पेस हो । साथै ट्रम्पले इरानी नागरिकहरुलाई सत्ता कब्जा गर्नका लागि आग्रह गरेका छन् । 
इजरायलले इरानमाथि सुरु गरेको सैन्य आक्रमणमा अमेरिका पनि जोडिएको छ । वालस्ट्रेट जर्नलका अनुसार अमेरिकापनि इरान आक्रमणमा संलग्न भएको हो । यसअघि इजरायलले युद्ध सुरु गरेको दाबि गरिएको थियो। इजरायलका रक्षा मन्त्री इजरायल कटेजले एक विज्ञप्ति जारी गर्दै देशभर ‘विशेष र स्थायी आपतकालीन अवस्था’  घोषणा गरेका छन् । 
आक्रमणमा विभिन्न पाँच सहरमा विस्फोटको आवाज सुनिएको इरानी राज्य सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानी समाचार एजेन्सी फारस न्युजका अनुसार  इस्फहान, कुम, करज र केर्मानशाह सहरमा विस्फोटको आवाज सुनिएको हो। एजेन्सीले इरानको राजधानी तेहरानस्थित युनिभर्सिटी स्ट्रिट र ‘रिपब्लिक’ क्षेत्रमा पनि केही मिसाइल खसेको जनाएको छ । आक्रमणसँगै दुबै देशको हवाई सेवा बन्द गरिएको छ ।
आईआरएनएले तेहरानका दुई स्थानमा विस्फोट भएको पुष्टि गरेको छ । सहरको मध्यभागमा धुवाँ देखिएको विवरण सार्वजनिक गरिएको छ।समाचार एजेन्सी रोयटर्सका अनुसार रक्षा मन्त्रीलाई उद्धृत गर्दै इजरायलले इरानविरुद्ध मिसाइल आक्रमण गरेको जनाएको छ । आईडीएफले देशका विभिन्न क्षेत्रमा हवाई हमलाको साइरन बजाइएको जानकारी दिएको छ । सम्भावित जवाफी कारबाहीस्वरूप इजरायलमाथि रकेट आक्रमण हुन सक्ने आशंकामा सर्वसाधारणलाई सतर्क गराइएको हो । 
इरानको फारस न्युज एजेन्सीले तेहरानको सहर केन्द्र (डाउनटाउन) क्षेत्रमा धेरै विस्फोटको आवाज सुनिएको जनाएको छ । एजेन्सीले तेहरानमा भएका तीन विस्फोटका तस्बिरसमेत सार्वजनिक गरिएको छ ।
आईडीएफले सामाजिक सञ्जाल एक्समा जारी गरेको पछिल्लो सूचनामा अत्यावश्यक सेवाबाहेक देशभरका सबै गतिविधि रोक लगाइने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘परिस्थितिको मूल्यांकनपछि आज (शनिबार) बिहान ८ बजेदेखि होम फ्रन्ट कमाण्डका निर्देशिकामा तत्काल परिवर्तन गर्ने निर्णय गरिएको छ ।’