बुधबार, ३१ असार २०८३
बिहिबार, २१ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २१ । निर्वाचन हुने वा नहुने भन्ने चौतर्फी आशंका र चर्चाका बीच आज प्रतिनिधि सभा सदस्य निर्वाचन देशभर उत्साहजनक रूपमा सम्पन्न भएको छ। निर्वाचन आयोगले प्रारम्भिक अनुमान अनुसार देशभर करिब ६० प्रतिशत मत खसेको जनाएको छ।
निर्वाचनपछि आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले छिटपुट घटनाबाहेक देशभर मतदान शान्तिपूर्ण रहेको जानकारी दिनुभयो। उहाँका अनुसार दुर्गम १५ जिल्लाका मतपेटिकाहरू नेपाली सेनाको हेलिकोप्टरमार्फत संकलन गरिनेछ।
ताप्लेजुङ, रसुवा, दोलखा र रुकुम पूर्वका मतपेटिका आजै संकलन गरिनेछ भने सङ्खुवासभा, सोलुखुम्बु, मनाङ, हुम्ला, रुकुम पश्चिम र बाजुराका मतपेटिकाहरू शुक्रबारसम्म ल्याइनेछ। मतपेटिका संकलन भएलगत्तै मतगणना प्रक्रिया सुरु हुने आयोगले जनाएको छ।
आयोगले मतदाताहरूले शासन सञ्चालन प्रक्रियामा सहभागी भई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेको छ। केही स्थानमा मतदाताको अनुपस्थितिबारे बोल्दै कार्यबाहक प्रमुख भण्डारीले यो असन्तुष्टि संविधान वा प्रणालीप्रति नभई जनप्रतिनिधिले गरेका प्रतिबद्धता पूरा नहुँदाको परिणाम हुन सक्ने स्पष्ट पार्नुभयो।
अहिले देशभरका मुख्य निर्वाचन कार्यालयहरूमा मतपेटिका बुझाउने क्रम जारी छ र आम नागरिकको ध्यान अब सुरु हुने मतगणना र परिणामतर्फ केन्द्रित भएको छ।