logo-image

बिहिबार, ३२ असार २०८३

अपराध: स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ

आइतबार, ०१ चैत २०८२ · समसामयिक

अपराध: स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ 
काठमाडौं, चैत्र १
काठमाडौं महानगरपालिका–१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ८ सय ४० रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका २७ वर्षीय दिपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बा.प्र ०२–०५२ प ६९९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
सुनसरी, चैत्र १
धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टस्थित होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१६ बस्ने ३२ वर्षीय किशन घिमिरे सहित ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १ हजार ८ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
काठमाडौं, चैत्र १ 
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित सडकमा प्रदेश १–०२–००२ ख ०४३९ नम्बरको ट्रकले बागमती प्रदेश ०६–००७ प ५१४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार माडी नगरपालिका–६ बस्ने २६ वर्षीय शंकर सुनारको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको  छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।  
पाल्पाको बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सडकमा लु.१ च ३७४० नम्बर पिकअप जिप र लु.८४ प ४३४८ नम्बरको स्कुटर एकअपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा स्कुटर चालक माथागढी गाउँपालिका–१ घर भई रूपन्देही बुटवल उपमहानगरपालिका–८ शुक्खानगर बस्ने ३६ वर्षीय खिलेश्वर घर्ती मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको छ । 
मोरङको विराटनगर महानगरपालिका–१४ स्थित सडकमा वीआर ३८ एपी ४२८२ नम्बरको मोटरसाइकल को.२ स १६२ नम्बरको गाडीमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका–१८ बस्ने ३० वर्षीय अजय मण्डलको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबोल शिक्षण अस्पताल विराटनगरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ । 
सुनसरीको हरिनगर गाउँपालिका–१ भुटाहास्थितÞ सडकमा प्र.१–०२–०५७ प ४८९९ नम्बरको मोटरसाइकललाई स.१ त ४९१४ नम्बरको ट्याक्टरले शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–१ बस्ने २५ वर्षीय दिपक दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नरसिंह होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 
तनहुँको भिमाद नगरपालिका–९ अस्पाक्दीस्थित सडकमा लु.३ त ३०२६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार कपिलवस्तु शिवराज नगरपालिका–१ चैनपुर घर भएका ४५ वर्षीय माईला भन्ने लड्डु थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।  
गोरखाको शहिदलखन गाउँपालिका–३ कान्टारस्थित सडकमा बाग्मती प्रदेश १–००६ ख ८४३० नम्बरको इभी गाडी सडकबाट करिब २ सय मिटर तल खसेर शनिबार बेलुका दुर्घटना हुँदा गाडीमा सवार भारतीय नागरिक ५८ वर्षीय मुतु कुमार समेत ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका गाडी चालक समेत ९ जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।  
सर्लाहीको लालबन्दी नगरपालिका–१ बाघबानीस्थित सडकमा लु.प.०३–००१ ख ०४३० नम्बरको बसले प्र.२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–१ नवलपुर बस्ने पर्सा वीरगंज महानगरपालिका–१ छप्कैया घर भएका ३४ वर्षीय सुनिल महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलगंवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


डुबेर मृत्यु 
धादिङ, चैत्र १
निलकण्ठ नगरपालिका–१३ मदनखर्क बस्ने जनक गुरूङको छोरा अन्दाजी ७ वर्षीय अमृत गुरूङको सोही ठाउँस्थित आँपखोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   


आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, चैत्र १
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–९ गहते बस्ने पहलमान श्रेष्ठको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर पूर्ण रूपमा जलेर करिब २० लाख बराबरको धनमाल नष्ट भएको छ । 
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनी बस्ने ४५ वर्षीय कृष्ण खत्रीको गोठमा शनिबार दिउँसो आगलागी हुँदा करिब ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धममा आवश्यक अनुसन्धान गरिरहेको छ । 


विभिन्न धनमाल चोरी 
काठमाडौं, चैत्र १
टोखा नगरपालिका–७ साहेन्सा होटल नजिक डेरा गरी बस्ने मोरङ घर भएकी ३५ वर्षीया दिलमाया तामाङको कोठाबाट सुनको गरगहना र नगद समेत गरी करिब ६ लाख २० हजार रूपैयाँ बराबरको धनमाल शनिबार चोरी भएको छ । 
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार