logo-image

बिहिबार, ३२ असार २०८३

अपराध : अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

शुक्रबार, २९ फागुन २०८२ · समसामयिक

अपराध : अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ    
काठमाडौं, फागुन २९
काठमाडौं महानगरपालिका–१० शंखमुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित काठमाडौं बुद्धनगर बस्ने काठमाडौं बागबजार घर भएका १९ वर्षीय सिजन खड्गी समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
सुनसरीको धरान उपमहानगरपालिका–११ नगरकोट चोक बस्ने २० वर्षीय डानियल राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र डिकोलिक १ सय ४९ ट्याब्लेट सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटा बस्ने २१ वर्षीया सुनिता रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका–१० पिपलचौताराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका–१२ कालागौडी बस्ने २४ वर्षीय अर्जुन राना समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०२–००४ प १५८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका–१० दर्शी खल्लाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित लालझाँडी गाउँपालिका–२ कंज बस्ने २४ वर्षीय बलराम राना समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.१ प ६७७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका–८ खप्टीनालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय २० मिलिग्राम सहित कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने ३१ वर्षीय पुरूषोत्तम रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पचुइबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
झापाको शिवसताक्षी नगरपालिका–११ झिलझिले बस्ने ३२ वर्षीय शिवा मल्लीक समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय १० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले शिवाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सर्लाहीको लालबन्दी नगरपालिका–१२ पत्थरकोटस्थित झोलुङ्गे पुलबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सोही नगरपालिका–११ बस्ने २१ वर्षीय शोम बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले बा.४७ प ४६६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ । 
मकवानपुरको भीमफेदी गाउँपालिका–५ छबेली बस्ने २० वर्षीय प्रशान्त रूम्वालाई अवैध लागूऔषध खेरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भीमफेदी गाउँपालिका–६ धोर्सिङ बस्ने २३ वर्षीय ज्ञानी डङ्गोलले दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ । 
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–७ दुधमती खोला नजिकबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ४१ ट्याब्लेट, नाईट्राजेपाम ७७ ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–२ बस्ने ४८ वर्षीय राकेश तामाङ र महोत्तरी पिपरा गाउँपालिका–७ बस्ने २६ वर्षीय आलोक चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले महोत्तरीबाट जनकपुरतर्फ आउँदै गरेको ज.१२ प ५२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ सिद्धार्थपथबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र नोर्फिन ५ सय एम्पुल सहित भारत घर भएका ४१ वर्षीय मोहमद आजमलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं, फागुन २९
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ बस्ने चितवन भरतपुर महानगरपालिका–१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्ने सिन्धुली कमलामाई नगरपालिका–७ घर भएकी २९ वर्षीया सविना खड्का र काठमाडौं टोखा नगरपालिका–११ बस्ने काठमाडौं दक्षिणकाली नगरपालिका–९ घर भएका ४१ वर्षीय अम्बर गुरूङ रहेका छन् ।  
पक्राउ मध्ये कमलाले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ, सविनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र अम्बरले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कमलालाई काठमाडौं महानगरपालिका–१५ बाट र सविनालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बाट बुधबार तथा अम्बरलाई काठमाडौं महानगरपालिका–१२ बाट बिहीबार पक्राउ गरेको हो । 
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  


लेनदेन (विगो) मुद्दाका फरार प्रतिवादी पक्राउ    
काठमाडौं, फागुन २९
लेनदेन (विगो) मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३२ सहयोगीनगर बस्ने रामेछाप मन्थली नगरपालिका–४ घर भएका ४३ वर्षीय ध्रुर्व प्रसाद भट्टराईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला अदालत ललितपुरको २०७५ साउन २५ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ  । 


सवारी दुर्घटनामा तीन जनाको मृत्यु    
काठमाडौं, फागुन २९
काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारस्थित सडकमा बा.३५ प ९०४० नम्बरको स्कुटर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक ललितपुर गोदावरी बस्ने धादिङ घर भएकी ३२ वर्षीया सिर्जना आले मगरको मृत्यु भएको   छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।  
सुर्खेतको चिङ्गाड गाउँपालिका–३ ‌ढारखेतस्थित सडकमा भे.२ त १११३ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–२ रानीबास बस्ने अन्दाजी ५० वर्षीय तीर्थ बहादुर रोकायको मृत्यु भएको   छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ । 
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित सडकमा ना.४ ख ९९२३ नम्बरको कन्टेनर गाडी र बा.प्र ०३–००१ ख ०३९८ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा कन्टेनर चालक हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पकताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा समाचार