बुधबार, १० असार २०८३
बुधबार, १० असार २०८३ · समसामयिक
काठमाडौं, असार १० । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको छ।
पौडेलकी पत्नीले दायर गरेको उक्त रिटमा राजनीतिक प्रतिशोधका आधारमा, बिना कुनै प्रमाण र आधार उनलाई पक्राउ गरिएको उल्लेख गर्दै तुरुन्त थुनामुक्त गर्न माग गरिएको छ। यो रिटमाथि सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुने तय भएको छ।
गत सोमबार सुर्खेतमा आयोजित एक कार्यक्रममा सहभागी भइरहेका बेला पौडेललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गाडीमा राखेर काठमाडौँ ल्याएको थियो। उनीमाथि दीपक भट्ट र कमल किशोर मालपानी समूहसँगको शेयर लेनदेनको विषयलाई लिएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको छ, जसका लागि मंगलबार अदालतबाट ५ दिनको म्याद समेत थप भइसकेको छ।