logo-image

शुक्रबार, ३० असोज २०८३

सांसद सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ

शुक्रबार, ३० असोज २०८३ · समसामयिक

सांसद सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ

 

काठमाडौं, असोज ३० । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमाथि प्रक्रियाअनुसार अनुसन्धान गरेर अघि बढ्ने बताएको छ । शुक्रवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकपछि निर्णयहरु सुनाउने क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले यस्तो बताउनुभएको हो ।

सांसद सुनारले एक महिलामाथि अश्लिल शब्दहरु प्रयोग गरी धम्की दिएको आरोपसहितको अडियो बाहिरिएको थियो । सोही बारेमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा मन्त्री तिमिल्सिनाले सरकारले आवश्यक पर्दा अनुसन्धान गरेर विधिवत रुपमा हेरी अघि बढ्ने बताउनुभएको हो । उहाँले सरकारले घटनाबारे आवश्यक चासो नदेखाएको भन्नेकुरामा सत्यता नरहेको भन्दै मन्त्री तिमिल्सिनाले आवश्यक प्रक्रियाअनुसार सरकार अघि बढ्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सरकारले आवश्यक पर्दा खेरी अनुसन्धान गरेर यसलाई विधिवत रुपमा कसरी अगाडि बढाउनु पर्छ । तपाईले कुन प्रमाणको आधारमा कुन तथ्यको आधारमा के आधारमा दबाउन खोजिएको भन्नुभयो, सरकारको त्यस्तो कुनै नियत छैन । त्यस्तो हुनु हुँदैन, हुँदैन । आवश्यक सबै प्रक्रिया अगाडि बढ्छ । मन्त्रिपरिषद्मा आज भएका निर्णयहरु मैले सुनाएँ । यो विषयमा मन्त्रिपरिषदको कुनै निर्णय भएको छैन ।’

मन्त्री तिमिल्सिनाले मन्त्रीपरिषद्ले सांसद सुनारको बारेमा पनि कुनै निर्णय नगरेको दाबी गर्नुभयो । –न्युज एजेन्सी नेपाल