logo-image

आइतबार, १७ जेठ २०८३

संसद्‌भित्रै किन आक्रोशित बनिन् सांसद आशिका तामाङ ?

आइतबार, १७ जेठ २०८३ · समसामयिक

संसद्‌भित्रै किन आक्रोशित बनिन् सांसद आशिका तामाङ ?

काठमाडौं, जेठ १७ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको प्रश्नोत्तर कार्यक्रमका दौरान सांसदहरूले प्रश्न सोध्न नपाएपछि संसद्‌मा केही बेर तनावपूर्ण स्थिति सिर्जना भएको छ। प्रधानमन्त्रीलाई प्रश्न सोध्न रोष्टम अगाडि धेरै सांसदहरूले हात उठाए पनि सभामुखले दलीय आधारमा प्रत्येक दलबाट एक–एक जनालाई मात्र अवसर दिँदै कार्यक्रम सकिएको घोषणा गरेपछि सांसदहरू असन्तुष्ट बनेका हुन्।

सभामुखको घोषणा लगत्तै नेकपा एमालेका प्रमुख सचेतक ऐन महर र सांसद ध्रुवराज राईलगायतले उठेर विरोध जनाएका थिए। सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ प्रश्न सोध्न नपाएपछि एकाएक आक्रोशित बनेकी थिइन्। उनले सत्तारुढ दलका सांसदहरूतर्फ लक्षित गर्दै रोष्टमबाटै आक्रोश व्यक्त गर्न थालेपछि रास्वपाकै अन्य सांसदहरूले उनलाई सम्झाउने प्रयास गरेका थिए।

तर, आक्रोशित तामाङले बस्न नमानेपछि रास्वपाकै सहकर्मी सांसदहरूले उनको हात समातेर जबरजस्ती बैठक कक्षभन्दा बाहिर लगेका थिए। प्रश्नोत्तरको समय सीमित हुँदा संसद्‌भित्र सत्तापक्ष र प्रतिपक्षबीच बारम्बार यस्ता असन्तुष्टिहरू देखिने गरेका छन्।