बिहिबार, २५ भदौ २०८३
बिहिबार, २५ भदौ २०८३ · समसामयिक
काठटमाडौं, भदौ २५ । नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पु¥याउने प्रमुख अवरुद्ध नसा बिनाचिरफार खोलिएको छ । धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने अत्याधुनिक उपचार विधिबाट अवरुद्ध नसा खोलिएको हो ।
मगरको मुटुबाट मस्तिष्कतर्फ रगत लैजाने प्रमुख रक्तनली पूर्ण रूपमा बन्द भएको थियो । केएमसीका न्युरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलका अनुसार मगरको टाकायासु आर्टेराइटिसका कारण मस्तिष्कमा रगत पु¥याउने प्रमुख रक्तनलीका तीन शाखा लामो समयदेखि पूर्ण रूपमा बन्द थिए । त्यसमाथि मस्तिष्कको दायाँ मध्य धमनीमा अचानक रगतको डल्लो जमेर रक्तप्रवाह अवरुद्ध भएपछि मस्तिष्कघात समेत भएको पौडेलले बताउनुभयो । बन्द रहेको रक्तनली खोल्न बेलुन एन्जियोप्लास्टी र स्टेन्टिङ तथा मस्तिष्कमा अड्किएको रगतको डल्लो निकाल्न मेकानिकल थ्रोम्बेक्टोमी गरिएको डा. पौडेलले बताउनुभयो । उहाँका अनुसार सुरुमा आकस्मिक कक्षमा बिरामीको हातखुट्टा नचल्ने र मुख बाङ्गिएको देखिएपछि मस्तिष्कघातको आशंका गरिएको थियो । तत्काल गरिएको सिटी स्क्यानमा मस्तिष्कको दायाँ भागमा असर देखिएपछि सिटी एन्जियोग्राफी गर्दा मस्तिष्कमा रगत लैजाने प्रमुख रक्तनलीहरू बन्द भएको पत्ता लागेको हो । खुट्टाबाट तार र क्याथेटर प्रवेश गराएर बन्द भएको रक्तनलीसम्म पुगिएको उहाँले जानकारी दिनुभयो । त्यसपछि विशेष बेलुनको सहायताले रक्तनली फराकिलो पारेर स्टेन्ट राखिएको र रक्तप्रवाह पुनःस्थापित भएपछि मस्तिष्कको रक्तनलीमा अड्किएको रगतको डल्लो भ्याकुम र मेकानिकल थ्रोम्बेक्टोमीको माध्यमबाट निकालिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सुरुमा इमर्जेन्सीमा विरामी आउँदा हामीले स्ट्रोक भयो भनेर शंका गरेका थियौ, सिटी स्क्यान गरेर हेर्दा दिमागको दाहिने भागमा दाग बसेको थियो । साथै सिटी एन्जियोग्राफीमा नशा पुरै बन्द थियो । हाम्रो मुटुबाट माथि जाने महाधमनी हुन्छ । महाधमनीको मुख्य दिमागमा रगत लाने नशा तीनवटै नशा बन्द भएको थियो र हाततिर लाने एउटा नशाबाट मात्रै दिमागको आपूर्ति भइरहेको थियो । यो कन्डिसनमा एक त मुटुबाट दिमागमा लाने नशालाई चाहिँ पुरै १०० प्रतिशत ब्लक भएकोलाई खोल्नुपर्ने । त्यहीमाथि दिमाग भित्रको अर्को नशा पनि ब्लक थियो । डबल ब्लक भएकोले यो एकदमै च्यालेन्जिङ केस थियो । हामीले घरपरिवारसँग सल्ला गरिसकेपछि उहाँहरुले तार विधिबाटै जसरी हुन्छ, ज्यान बचाउनुप¥यो भन्नुभयो । त्यसपछि हामीले एन्जियोग्राफी ग¥यौँ । पूर्णरुपमा बन्द भएको नशा थियो, त्यसलाई नशा कहाँबाट निक्लेको छ ? त्यो सुरुमा हामीलाई केही समय लाग्यो । १५–२० मिनेट हामी नशाभित्र खोतल्यौँ । त्यसपछि तार छिर्यो, तार छिरेपछि हामीले बेलुन एन्जियोप्लास्टी ग¥यौ । बेलुन एन्जियोप्लास्टी गरेर एउटा स्टेन्ट हाल्यौँ । स्टेन्ट स्टेन्ट हालेपछि त्यसपछि नशा बिस्तारै खुल्यो । त्यसपछि हामीले भ्याक्युम लगाएर जुन ब्लड क्लट छ त्यो क्लटलाई नै तान्यौँ । त्यसपछि हामी दिमागमै पुगेर, दिमागमा पुगेर एउटा झिल्ली झिल्ली र भ्याक्युम लगाएर दिमागको क्लटलाई पनि तान्यौँ । हामीले यो अप्रेसन पूर्ण रुपमा बेहोस नगराइकन अर्ध होशमा गरेको थियौँ ।’
उपचारअघि चिकित्सक टोलीले बिरामीका परिवारलाई अवस्था जटिल रहेको र उपचार सफल हुने निश्चित नभएको जानकारी दिएको थियो । परिवारले जोखिम भएपनि उपलब्ध आधुनिक उपचार विधिबाट प्रयास गर्न अनुमति दिएपछि उपचार अघि बढाइएको डा पौडेलले जानकारी दिनुभयो । पौडेलले आफूले यस्तो प्रकृतिको केस अहिलेसम्म नदेखेको बताउनुभयो । उहाँका अनुसार यो उहाँको उपचार यात्राको पहिलो र नेपालमा पनि पहिलोपटक गरिएको उपचार हो । टाकायासु आर्टेराइटिस ठूलो रक्तनलीमा हुने दुर्लभ सूजनजन्य रोग हो । यसले रक्तनली साँघुरो वा पूर्ण रूपमा बन्द गराउन सक्छ, जसका कारण मस्तिष्कसहित शरीरका विभिन्न अंगमा पर्याप्त रक्तप्रवाह नहुन सक्छ । न्युरो इन्टरभेन्सन उपचारमा सामान्य खुला शल्यक्रियाजस्तो टाउको चिर्नुपर्दैन । खुट्टा वा हातको रक्तनलीबाट तार तथा क्याथेटर प्रवेश गराएर प्रभावित रक्तनलीसम्म पुगिन्छ र क्याथल्याबको सहायताले उपचार गरिन्छ ।
उहाँले भन्नुभयो, ‘मुटुबाट गएको नशा पूर्ण ब्लक भएर माथि दिमागमा पनि ब्लक भएको यो केस सायद नेपालकै पहिलो केस हो । मैले इन्डियामा ३ वर्ष काम गर्दा पनि यस्तो खालको केस देखेको थिएन । मेरो आफ्नै लाइफको पनि पहिलो केस हो र नेपालको लागि पनि यो पहिलो केस नै हो । ताकायासु आर्टराइटिस भन्ने रोग छ, यो भनेको आत्मरक्षा प्रणाली प्रणालीको कमजोरी हो । यसमा तपाईको आफ्नै शरीरले आफ्नै नशाहरुलाई अट्याक गर्छ ।’
डा पौडेलका अनुसार यस्तो उपचारका लागि आवश्यक उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले परम्परागत शल्यक्रियाको तुलनामा खर्च बढी पर्न सक्छ । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई अस्पतालले आवश्यकताअनुसार निःशुल्क उपचारसमेत गरेको उहाँले जानकारी दिनुभयो । केएमसीमा मस्तिष्कघातबाहेक ब्रेन एन्युरिजम, एभीएम, ट्युमर एम्बोलाइजेसन र फिस्टुलालगायतका रक्तनलीसम्बन्धी रोगको समेत न्युरो इन्टरभेन्सन प्रविधिबाट उपचार हुँदै आएको उहाँले जानकारी दिनुभयो ।