शुक्रबार, ०८ साउन २०८३
शुक्रबार, ०८ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन ८ । सामाजिक सञ्जालमा भ्रम फैल्याएको र चरित्रहत्या गरेको आरोपमा पक्राउ परेकी वेदिका केसी हाजिर जमानीमा रिहा भएकी छन्।
तन्त्रविद्या र धर्मका नाममा हुने शोषणविरुद्ध खरो रूपमा उत्रिँदै आएकी अभियन्ता वेदिका केसी विद्युतीय कसुरको आरोपमा पक्राउ परेकी थिइन्। तर, जिल्ला अदालत काठमाडौँबाट जम्मा एक दिनको मात्रै म्याद थपिएपछि उनलाई शुक्रबार बिहान सरकारी वकिलको कार्यालयमा उपस्थित हुने सर्तमा हाजिर जमानीमा रिहा गरिएको छ।
साइबर ब्युरोको टोलीले बिहीबार जोरपाटीबाट नियन्त्रणमा लिएकी केसीमाथि एक चर्चित कथावाचिकाले चरित्रहत्या र सामाजिक भ्रम फैलाएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले उनीमाथि कानुनी डण्डा चलाएको हो।
थुनाबाहिरै रहेर अनुसन्धानको सामना गर्ने सुविधा पाएकी केसीको यो प्रकरणले अहिले धर्म, संस्कारका नाममा हुने थिचोमिचो र अभिव्यक्ति स्वतन्त्रताबीचको सीमालाई लिएर पुनः नयाँ बहस सिर्जना गरिदिएको छ। प्रहरीका अनुसार केसी रिहा भए पनि उनीमाथि लगाइएको साइबर अपराधसम्बन्धी अनुसन्धान भने निरन्तर जारी रहनेछ।