logo-image

सोमबार, १५ भदौ २०८३

रातभरको व्यापक खोजीपछि फेला परिन् दुई वर्षीया विन्दी, कसरी पुगिन् १ किमी टाढा?

आइतबार, ०७ भदौ २०८३ · समसामयिक

रातभरको व्यापक खोजीपछि फेला परिन् दुई वर्षीया विन्दी, कसरी पुगिन् १ किमी टाढा?


बारा, भदौ ७ । बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्साकी दुई वर्षीया बालिका विन्दी मण्डल हराएको १२ घण्टापछि सकुशल फेला परेकी छन्।

शनिबार साँझ ५:३० बजेतिर घरअगाडि खेलिरहेका बेला उनी अचानक बेपत्ता भएकी थिइन्। बालिका हराएको खबर पाउनेबित्तिकै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खोजीमा जुटेको थियो। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको कमाण्डमा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी रातभर खोजी कार्य तीव्र पारिएको डीएसपी मिनबहादुर घलेले जानकारी दिए।

व्यापक खोजीपछि आइतबार बिहान करिब ५ बजे घरबाट एक किलोमिटर उत्तरतर्फ पर्ने कलैया–२६ सिसवा महेशपुरको सडक किनारमा रोइरहेको अवस्थामा स्थानीय सल्मा नेशाले बालिकालाई देखेकी थिइन्। त्यसलगत्तै उनले प्रहरीलाई खबर गरेकी हुन्।

उद्धारपछि बालिकालाई तत्कालै प्रादेशिक अस्पताल कलैया लगि स्वास्थ्य परीक्षण गराइएको थियो। चिकित्सकहरूका अनुसार शारीरिक अवस्था सामान्य रहेको पुष्टि भएपछि प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको छ। बालिका घरबाट कसरी त्यति टाढा पुगिन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।