आइतबार, १७ जेठ २०८३
आइतबार, १७ जेठ २०८३ · समसामयिक
काठमाडौँ जेठ १७ । सामाजिक सञ्जाल टिकटकमा भाइरल र चर्चित रहेकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ परेकी छिन्। ६ करोड रुपैयाँभन्दा बढी ठगी र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को मुद्दामा फरार रहेकी अधिकारीलाई पक्राउ गरी नेपाल ल्याइएको हो।
अधिकारीलाई नेपाल ल्याएर अहिले ललितपुर प्रहरीको हिरासतमा राखिएको छ । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) ले उनीविरुद्ध 'रेड नोटिस' जारी गरेपछि थाइल्याण्ड प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको हो।
उनीविरुद्ध ललितपुरको सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउन महिनामै प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दर्ता गराएका थिए। जाहेरी परेलगत्तै उनी फरार भएर वैदेशिक रोजगारी वा अन्य बहानामा विदेश भागेको खुलेको थियो।
जाहेरीमा अधिकारीमाथि कुल ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ। प्रहरीले अनुसन्धानका क्रममा उनको बैंक खाता र वित्तीय विवरणहरू जाँच गर्दा छोटो समयमै अस्वाभाविक र ठूलो परिमाणको आर्थिक कारोबार फेला पारेको थियो। बैंकिङ माध्यमबाट ठूलो रकमको संदिग्ध कारोबार देखिएपछि प्रहरीले उनीमाथि ठगीसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान अघि बढाएको छ।
टिकटकका माध्यमबाट आम नागरिकमाझ चिनिएकी अधिकारीले सोही लोकप्रियताको आडमा ठगी धन्दा चलाएको प्रहरीको प्रारम्भिक अनुमान छ। हिरासतमा लिइएकी अधिकारीमाथि अब थप कानूनी प्रक्रिया अघि बढाइने ललितपुर प्रहरीले जनाएको छ।
आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने एक व्यक्ति पक्राउ
२७ मिनेट अगाडि