मङ्गलबार, १६ असार २०८३
मङ्गलबार, १६ असार २०८३ · समसामयिक
काठमाडौं, असार १६ । मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै कान्ति लोकपथ (हेटौंडा–काठमाडौं सडकखण्ड) मा असार १६ र १७ गते रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रशासन कार्यालय ललितपुरले छुट्टाछुट्टै सूचना जारी गर्दै निरन्तरको वर्षा, पहिरो, सडक अवरोध तथा बाढीको सम्भावित जोखिमका कारण यात्रु र सवारी साधनको सुरक्षाका लागि उक्त निर्णय गरिएको जनाएको छ।
सूचनाअनुसार, असार १६ गते बेलुका ५:०० बजेदेखि असार १७ गते बिहान ५:०० बजेसम्म तथा असार १७ गते बेलुका ५:०० बजेदेखि असार १८ गते बिहान ५:०० बजेसम्म कान्ति लोकपथ (हेटौंडा–काठमाडौं सडकखण्ड) मा कुनै पनि प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले मकवानपुर–सिस्नेरी हुँदै सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनको आवागमन अर्को सूचना जारी नभएसम्म तोकिएको समयावधिमा पूर्ण रूपमा बन्द रहने जनाएको छ। प्रशासनले यसबाट यात्रु तथा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, नदी, खोला तथा जलाशयमा हुने जोखिमपूर्ण गतिविधिबाट टाढा रहन, पहिरो र बाढी प्रभावित क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा मौसम र सुरक्षा निकायबाट जारी हुने आधिकारिक सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रशासनले विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ।