logo-image

शनिबार, ३१ असोज २०८३

चीनमा भोटेकोशी नदी थुनिएर बन्यो विशाल ताल, फुटेर विनाशकारी बाढी आउने उच्च जोखिम!

बिहिबार, ११ भदौ २०८३ · समसामयिक

चीनमा भोटेकोशी नदी थुनिएर बन्यो विशाल ताल, फुटेर विनाशकारी बाढी आउने उच्च जोखिम!

 

काठमाडौं, भदौ ११ । नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त भू-उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणअनुसार हिजो (भाद्र १० गते) चीनतर्फ बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ठूलो ताल बनेको पुष्टि भएको छ।

उक्त थुनिएको तालमा पानीको सतह निरन्तर बढिरहेको र जुनसुकै क्षण फुट्न सक्ने गम्भीर खतरा देखिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

ताल फुटेर नेपालतर्फ पुनः विनाशकारी बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै महाशाखाले भाद्र ११ गते दिउँसो ४:४६ बजे विशेष आपत्कालीन सूचना जारी गरेको छ।

सम्भावित जोखिमबाट बच्न अर्को सूचना जारी नभएसम्मका लागि भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दा, सडक यात्रु, स्थानीय प्रशासन र उद्धारमा खटिएका टोलीहरूलाई तत्काल नदी किनार छाडी सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

यसैबीच, सम्भावित विपत्तिको सामना गर्न तटीय क्षेत्रका सुरक्षा निकाय, उद्धारकर्ता र स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र खबर पाउनासाथ सुरक्षित स्थानतर्फ सर्न अपिल गरिएको छ।