शुक्रबार, ०८ साउन २०८३
शुक्रबार, ०८ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन ८ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताउनुभएको छ ।
शुक्रवार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रहरीको भुमिका र सडक अनुशासनका विविध पक्षमा आफ्नो धारणा राख्नुभएको हो । प्रहरीको कार्यप्रकृतिबारे चर्चा गर्दै श्रेष्ठले यसलाई निकै ‘अपजसी’ र कठिन जागिरको रूपमा चित्रण गर्नुभयो । आफ्नो देशको प्रहरीको उपस्थितिले मात्रै नागरिकले सुरक्षित महशुस गर्ने उहाँको तर्क छ । वि.सं. २०३२ सालमा भारतको लखनऊ भ्रमण गर्दा स्थानीयबाट ठगिनुपरेको व्यक्तिगत अनुभव सुनाउँदै उहाँले पराई मुलुकमा सुरक्षाको प्रत्याभुति पाउन कठिन हुने तर स्वदेशमा प्रहरी भएकै कारण नागरिक ढुक्कसँग बस्न सकेको उल्लेख गर्नुभयो । सडक अनुशासन र ट्राफिक व्यवस्थापनका विषयमा बोल्दै श्रेष्ठले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको चालक संस्कार आवश्यक रहेको औंल्याउनु भयो । विदेशमा चालकहरूले अरूलाई प्राथमिकता दिने (पहिले तिमी) संस्कार रहेको उल्लेख गर्दै उहाँले नेपालमा पनि लेन अनुशासन, गतिको पालना र लाइटको सही प्रयोगबारे थप शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । प्रहरीले चालेका सकारात्मक कदमहरूलाई जनताले पूर्ण रूपमा साथ दिएको उहाँको ठम्याइ छ ।
श्रेष्ठले भन्नुभयो, ‘प्रहरीको जागिर निकै चुनौतीपूर्ण र अपजसी हुन्छ । बिहानदेखि ट्राफिक व्यवस्थापन गर्नुपर्छ, आवश्यक पर्दा कडाइ पनि गर्नुपर्छ, फेरि प्रहरी सबैको मित्र भन्ने भावनासहित मुस्कुराएर सेवा पनि गर्नुपर्छ । यो साँच्चै कठिन जिम्मेवारी हो । प्रहरी भएकै कारण हामी आफ्नै देशमा सुरक्षित महशुस गर्छौं । विदेश जाँदा ठगी र विभिन्न समस्याको सामना गर्नुपर्छ । मलाई सम्झना छ, धेरै वर्षअघि लखनउ जाँदा रिक्सा चालकदेखि पसलसम्म धेरै ठाउँमा ठगिएको अनुभव भएको थियो । त्यसले आफ्नै देशमा प्रहरीको उपस्थितिको महत्व अझ महत्वपूर्ण छ, भन्ने संस्कार विकास गर्न आवश्यक छ । विदेशमा सवारी चालकले बत्ती बालेर अर्को सवारीलाई पहिले जान संकेत गर्छन्, तर हाम्रोमा प्रायः आफू पहिले जान खोज्ने प्रवृत्ति देखिन्छ । यस्तो ट्राफिक संस्कारुस गरायो । ट्राफिक व्यवस्थापनका सन्दर्भमा पहिले तिमी भन्ने संस्कार विकास गर्न आवश्यक छ । विदेशमा सवारी चालकले बत्ती बालेर अर्को सवारीलाई पहिले जान संकेत गर्छन्, तर हाम्रोमा प्रायः आफू पहिले जान खोज्ने प्रवृत्ति देखिन्छ । यस्तो ट्राफिक संस्कार विस्तारै सिकाउँदै लैजानुपर्छ । सही लेनको प्रयोग, गतिअनुसार सवारी चलाउने नियम र ट्राफिक अनुशासनबारे पनि निरन्तर जनचेतना आवश्यक छ । प्रहरीले प्रभावकारी रूपमा सम्झाउँदा धेरै नागरिकले नियम पालना गरेका उदाहरण छन्, जस्तै मादक पदार्थ सेवन गरेर सवारी चलाउने र अनावश्यक हर्न बजाउने प्रवृत्ति घटेको छ । त्यसैले ट्राफिक सुधारका लागि प्रहरीसँगै नागरिकको सचेतना र सहकार्य पनि उत्तिकै आवश्यक छ ।’
यस्ता सुधारका कार्यहरूमा जनचेतना फैलाउन कलाकारहरूको पनि महत्वपूर्ण भुमिका रहने भन्दै उहाँले आगामी दिनमा पनि चेतनामूलक कार्यहरूमा आफ्नो सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।