बिहिबार, २५ असार २०८३
बिहिबार, २५ असार २०८३ · अर्थ
काठमाडौं, असार २५ । नेपाली उद्यमी दीपजंग थापा सह–संस्थापक रहेको भारतमा मुख्यालय रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई) जडित साइबर सुरक्षा कम्पनी क्रतिकल टेक लिमिटेडले एक ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ। उसको प्राथमिक शेअर निष्कासन (आईपीओ) बम्बई स्टक एक्सचेन्ज (बीएसई) मा आकर्षक रूपबाट २०५.०८ गुणा ओभरसब्सक्राइब भएको छ। यसलाई भारतीय शेयर बजारमा नेपाली उद्यमी जोडिएको पहिलो सूचीकरण मानिन्छ।
उक्त आईपीओ असार १६ मा खुला भएर असार १८ मा बन्द गरिँदा त्यसले लगानीकर्ताहरूको अत्यधिक विश्वास प्राप्त गरेको पाइएको हो।सन् २०१३ मा इन्जिनियरिङ पढ्ने क्रममा तीन कलेज साथीहरू – दीपजंग थापा, पवन कुमार र परतोष कुमारद्वारा स्थापित – क्रतिकल टेक लिमिटेड अत्याधुनिक साइबर सुरक्षा सम्बन्धी समाधानहरूको एक विश्वसनीय प्रदायकको रूपमा स्थापित नाम बनेको छ । नेपालको खोटाङ मूल घर भएका सह–संस्थापक थापा उक्त कम्पनीमा चीफ अपरेटिङ अफिसर (सीओओ)का रूपमा नेतृत्वदायी भूमिका सम्हाल्छन्। मोतीलाल नेहरु राष्ट्रिय प्रविधि संस्थान (एमएनएनआईटी) बाट बीटेक स्नातक उनी यसअघि पेटीएममा ’प्रडक्ट म्यानेजर’का रूपमा काम गरेका थि ए।
“खोटाङको पहाडदेखि बम्बई स्टक एक्सचेन्जको ट्रेडिंग फ्लोर पुग्दासम्मको यो यात्रा मेरा लागि सपनाजस्तै हो। लगानीकर्ताको यति ठूलो उत्साहले हाम्रो सोचलाई अनुमोदन गरेको देख्दा हामी निकै नै धन्य भएका छौँ। यस आईपीओ नै हाम्रो अन्तिम लक्ष्य होइन, यो त महत्त्वाकाङ्क्षी यात्राको सुरुवात मात्र हो,” थापाले यस कोसेढुङ्गाका बारेमा भने।
“नयाँ पूँजीसाथ हामी अब कम्पनीको विश्वव्यापी विस्तारलाई तीव्र पार्न, हाम्रा नवीन प्लेटफर्महरूलाई अझ बलियो बनाउन र सीमापार साइबर सुरक्षामा अझ ठूलो प्रभाव सिर्जना गर्नका लागि तयार भएका छौँ ।”
क्रतिकल टेक लिमिटेडको स्थापना सन् २०१३ मा हाल सह–संस्थापक रहेका एकजनाको इमेल क्याम्पसको साझा कम्प्युटरमार्फत ह्याक भएसँगै भएको थियो। उक्त व्यक्तिगत घटनाले उनीहरूलाई साइबर सुरक्षाको व्यापक आवश्यकतालाई उजागर गरेको उनीहरू सम्झन्छन्। यसरी यी तीनैजना सहपाठीलाई व्यावहारिक, संस्थागत ग्रेड साइबर सुरक्षा समाधानहरू निर्माण गर्न प्रेरित ग¥यो ।
#IPO