logo-image

शुक्रबार, १२ भदौ २०८३

बगाएर लग्यो सपना, छोडेर गयो आँसुः ‘बाढी त गयो तर हामीलाई जिउँदै मारेर गयो’ (फोटो फिचर)

शुक्रबार, १२ भदौ २०८३ · समसामयिक

बगाएर लग्यो सपना, छोडेर गयो आँसुः ‘बाढी त गयो तर हामीलाई जिउँदै मारेर गयो’ (फोटो फिचर)

 

काठमाडौं, भदौ १२ ।   भदौ १० गते, बुधवार बिहानको मिर्मिरे । रसुवाका पहाडहरू अझै निदाइरहेका थिए । तर तिब्बत सीमावर्ती क्षेत्रमा परेको मुसलधारे वर्षा र पहिरोले थुनिएको भोटेकोशी अचानक बाँध फुटेझैँ काल बनेर उर्लियो । केही मिनेटभित्रै गड्याङगुडुङ आवाजसहित आएको लेदो र विशाल ढुङ्गासहितको भेलले रसुवाका तटीय बजार, पुल र घरहरूलाई एकै गाँसमा निल्यो । त्यो विनाशकारी भेल केवल रसुवामा मात्र सिमित रहेन, त्रिशूली नदी हुँदै नुवाकोटको उर्वर फाँट बट्टार, धादिङका बजार हुँदै चितवनको तटीय क्षेत्रसम्म पुग्दा सयौँ परिवारलाई सडकको बासमा पु¥याइदियो । भोटेकोशीमा आएको उर्लिंदो बाढीले टिमुरे स्याँप्रुबेंसी क्षेत्रका बस्तीहरूमा भीषण प्रहार ग¥यो । नदी किनारका पक्की र कच्ची घरहरू तासको पत्ताझैँ ढले ।
वर्षौंदेखि सीमा व्यापार र खेतीपातीमा रमेका स्थानीयले ज्यान जोगाउन अग्लो डाँडातर्फ भाग्नु बाहेक कुनै उपाय देखेनन् । पछाडि फर्केर हेर्दा आफ्नै आँखाअगाडि जीवनभरको कमाइ, पुख्र्यौली थाँतथलो र कतिपय आफन्तहरू उर्लंदो लेदोमा बिलाइरहेका थिए । 
बाढी गइसकेपछिको दृश्य झनै मुटु काम्ने खालको थियो । जहाँ हिजोसम्म चहलपहल हुन्थ्यो, त्यहाँ आज केवल कालो लेदो, भीमकाय चट्टान र भत्किएका पिलरहरू मात्र बाँकी छन् । आफ्ना हराएका परिवारको नाम लिँदै बगरमा भक्कानिएका आमाहरूको रोदनले रसुवाका भीरपाखाहरू पनि स्तब्ध बनेका छन् । 
रसुवाबाट हुत्तिएको त्रिशूलीको बाढी जब नुवाकोटको बेत्रावती हुँदै बट्टारको समथर फाँटमा पस्यो, त्यहाँको दृश्य झनै कारुणिक बन्यो । नुवाकोटको अन्नभण्डार मानिने बट्टारका हरिया धानखेतहरू क्षणभरमै ३-४ फिट बाक्लो बालुवा र हिलोको दलदलमा परिणत भए । किसानले भर्खरै रोपेका हरिया धानका बिरुवाहरू बालुवामुनि पुरिएका छन् । बाढी पसेका बस्तीहरूमा घरभित्रको अन्नपात, लत्ताकपडा, बालबच्चाका किताव–कापी र नागरिकता सबै हिलोमा मिसिएका छन् । बाढीको पानी घटेपछि बट्टारका बासिन्दाहरू हिलो पन्छाउँदै आफ्ना बचेखुचेका सम्झना खोज्न थालेका छन् । हिलोले पुरिएको चुल्हो, टुटेका भाँडाकुँडा र बगर बनेको आँगनमा बसेर एक वृद्ध भक्कानिँदै थिए । ‘बाढी त गयो तर हामीलाई जिउँदै मारेर गयो ।’
‘यो खेत हाम्रो जीवन थियो । यसैले वर्षभरिको पेट पाल्थ्यो । आज खेतै बगर भयो, घरभित्र हिलो मात्र छ । भोकमरी लाग्ने भयो बाबु ! ’
त्रिशूलीको यो प्रलयकारी बहाव धादिङको गल्छी, मलेखु र बेनिघाट क्षेत्रलाई जलमग्न पार्दै चितवनको देवघाट र तटीय क्षेत्रसम्म पुग्यो । पृथ्वी राजमार्ग छेउका कयौँ होटल र साना टहराहरू नदीले बगायो । पवित्र तीर्थस्थल देवघाटमा नदीको सतह खतराको निशानभन्दा माथि पुग्दा साधुसन्त र स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ विस्थापित भए । नारायणगढ र सौराहा तटीय क्षेत्रमा बाढी पस्दा नदी किनारका सुकुम्वासी बस्तीहरू डुबानमा परे । रसुवादेखि चितवनसम्मको करिव दुई सय किलोमिटर नदी तटीय क्षेत्रमा अहिले केवल त्रास, भत्किएका सपना र बेपत्ता आफन्तको खोजीमा छटपटाइरहेका आँखाहरू मात्र देखिन्छन् । 
‘त्रिशूली उर्लिएको आवाज आउँदा भूकम्प आएझैँ जमिन कामिरहेको थियो ।’
बाढीको भेल ओर्लिएपछि अब विपद्पछिको अर्को कठिन यात्रा शुरु भएको छ । हजारौँ नागरिक खुला आकाशमुनि चिसो त्रिपालको भरमा रात काट्न बाध्य छन् । पीडित बस्तीहरूमा खानेपानीको हाहाकार छ, बिजुली र सञ्चार सम्पर्क विच्छेद भएका छन् । बालुवामुनि पुरिएका गाईवस्तुका शवहरूबाट दुर्गन्ध फैलिन थालेको छ, जसले गर्दा महामारीको अर्को ठूलो जोखिम निम्त्याएको छ । सानो बच्चालाई काखमा च्यापेर हिलोको डिलमा बसिरहेकी आमाको आँखा अझै सुकेका छैनन् ।
‘सरकारले तत्काल ओत लाग्ने छानो र खानलाई दुई मुठी चामल देओस्’– यो नै अहिले रसुवादेखि बट्टारसम्मका बाढी पीडितहरूको एकमात्र चित्कार हो ।’
‘हामीलाई कुनै महँगो महल चाहिएको छैन, केवल हाम्रा नानीबाबुलाई चिसोबाट जोगाउने एउटा त्रिपाल र एक छाक तातो खोले भए पुग्छ ।’
‘मेरो जीवनभरको पसिनाले बनाएको सानो होटल र पसल भोटेकोशीको लेदोले एक मिनेटमै बगाइदियो । परिवार ज्यान जोगाएर भाग्यौँ, अब हातमा शून्य छ ।’

‘बट्टारको यो खेतमा हामीले सुन फलाउँथ्यौँ । अहिले चारैतिर ३ फिट बालुवा छ । धानका बाला देखिनुपर्ने ठाउँमा ढुङ्गा र हिलो मात्रै छ । हामीले वर्षभरि के खाने ?’ एक स्थानीयले पीडा पोखे । 
त्रिशूली यति डरलाग्दो रूपमा उर्लिएको सायदै अहिलेको जीवित पुस्ताले देखेका थिए । 
श्रद्धाञ्जली र आँसुको तर्पण
बाढीपछिको मौन क्रन्दन
उर्लिएको भेलले बगायो घरबार
आँखामा आँसु छ, मनभरी हाहाकार ।
बट्टारको फाँटमा बालुवाको थुप्रो ।
रसुवाको बगरमा टुटेको त्यो झुप्रो ।
बाढी त गयो तर छातिमै घाउ छोडेर
कसरी बाँच्लान् ती नानीहरू हात जोडेर ?

प्राकृतिक विपद्ले भूगोल र सपना भत्काए पनि हाम्रो मानवीय ऐक्यवद्धता कहिल्यै भत्किनु हुँदैन । रसुवा, नुवाकोट बट्टार र धादिङ तटीय क्षेत्रका बाढी पीडित दाजुभाई दिदीबहिनीहरूलाई तत्काल राहत, शुद्ध खानेपानी, औषधि र अस्थायी बासस्थानको खाँचो छ ।
तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल

ताजा समाचार