मङ्गलबार, ०२ भदौ २०८३
मङ्गलबार, ०२ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ २ । आन्तरिक राजश्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन पुरस्कार’ अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक विजेताहरूको नाम घोषणा गरिएको छ ।
अर्थ मन्त्रालयमा साेमबार आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साउनको दोस्रो पाक्षिकका १७ जना विजेताहरूमध्ये १६ जना (जनही १ लाख रुपैयाँका विजेता) को नाम सार्वजनिक गर्नुभयो ।
त्यसैगरी, १० लाख रुपैयाँ राशिको बम्पर पुरस्कारको घोषणा भने साउनको पहिलो पाक्षिकका बम्पर विजेता हेमराज जोशी र उहाँकी धर्मपत्नी तुलसी पन्तले गर्नुभएको छ । कार्यक्रममा पहिलो पाक्षिकका अर्का विजेता हिमाल अर्यालको पनि उपस्थिति रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले ‘बिल लिने र बिल दिने’ संस्कृतिको प्रवद्र्धनका लागि यो कार्यक्रम ल्याइएको स्पष्ट पार्नुभयो ।
उहाँले यस अभियानका दुईवटा मुख्य लक्ष्य रहेको उल्लेख गर्दै भन्नुभयो, ‘यसले एकातिर राज्यको राजस्व वृद्धिमा सहयोग पु¥याउँछ भने अर्कोतिर आम नागरिकलाई औपचारिक अर्थतन्त्रमा आवद्ध गराउन प्रेरित गर्दछ । राज्यले तपाईँहरूलाई पुरस्कृत गरेर सचेत उपभोक्ता अभियानका लागि लगानी गरेको छ । तपाईंहरू आफ्नो गाउँ, पालिका र निर्वाचन क्षेत्रमा यस अभियानको बिम्ब हुनुहुन्छ । आफ्नो क्षेत्रमा यस कार्यक्रमको विशेष दूतका रूपमा रहेर सचेतना फैलाउन म हार्दिक अनुरोध गर्दछु ।’
विजेताहरूलाई बधाई दिँदै अर्थमन्त्रीले उनीहरूलाई ‘सचेत उपभोक्ता अभियान’ को विशेष दूतको रूपमा काम गर्न आग्रह गर्नुभयो । पुरस्कार घोषणा कार्यक्रममा सुदूरपश्चिमदेखि गैँडाकोटसम्मका विजेताहरूको सहभागिता रहेको थियो । अर्थमन्त्रीले दोस्रो संस्करणमा पुरस्कृत हुने सम्पूर्ण उपभोक्ताहरूलाई बधाई दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने संकेत गर्नुभयो ।–न्युज एजेन्सी नेपा
भारतको बिहारस्थित मन्दिरमा भागदौडः ७ जनाको मृत्यु
२७ मिनेट अगाडि
इण्डोनेसियामा शक्तिशाली भूकम्पः मृतकको संख्या ५४ पुग्यो
एक घण्टा अगाडि