logo-image

मङ्गलबार, १६ असार २०८३

एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले माग्यो ५ वटा फैसला र विचाराधीन मिसिल

मङ्गलबार, १६ असार २०८३ · समसामयिक

एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले माग्यो ५ वटा फैसला र विचाराधीन मिसिल

काठमाडौं, असार १६ । सर्वोच्च अदालतले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णुप्रसाद पौडेलद्वारा दायर गरिएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि सुनुवाइ गर्दै विभिन्न अदालतमा विचाराधीन तथा फैसला भइसकेका पाँच वटा मुद्दाका सक्कल मिसिल (फाइल) झिकाउन आदेश दिएको छ।

अदालतले उक्त मुद्दाहरूको गम्भीरतालाई ध्यानमा राख्दै आगामी असार १८ गतेभित्रै ती सम्पूर्ण सक्कल फाइलहरू अध्ययनका लागि पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सोमबार जारी गरेको यस आदेशअनुसार, विशेष अदालतमा विचाराधीन दीपक भट्टसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा र उच्च अदालत पाटनमा विचाराधीन बैंकिङ कसुरसम्बन्धी मुद्दाका सक्कल मिसिल मगाइएको छ।

यसैगरी, काठमाडौँ जिल्ला अदालतमा विचाराधीन आशिष श्रेष्ठ प्रतिवादी रहेको बिमा कसुरसम्बन्धी मुद्दा तथा सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेका धितोपत्र (सेयर) सम्बन्धी दुई छुट्टाछुट्टै मुद्दाका फाइलहरू पनि झिकाउन भनिएको छ।

साथै, यसअघि दीपक भट्टले गृह मन्त्रालयविरुद्ध दायर गरी फैसला भइसकेको बन्दीप्रत्यक्षीकरण रिटको मिसिल समेत सर्वोच्च अदालतको अभिलेख शाखाबाट उपलब्ध गराउन अदालतले निर्देशन दिएको छ।