logo-image

आइतबार, १० साउन २०८३

ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत द ब्रिटिस मोडल कलेजका विद्यार्थी सम्मानित

आइतबार, १० साउन २०८३ · समसामयिक

ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत द ब्रिटिस मोडल कलेजका विद्यार्थी सम्मानित



काठमाडौं, साउन १० । द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी विश्वकै प्रतिष्ठित युवा विकास कार्यक्रम ’द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड’ अन्तर्गत ब्रोंज अवार्ड २०२६ बाट सम्मानित भएका छन् । 
अवार्ड प्राप्त गर्ने विद्यार्थीहरूमा आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झा रहेका छन् । उनीहरूलाई द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड नेपाल द्वारा आयोजित नेशनल अवार्ड सेरेमोनी २०२६ मा औपचारिक रूपमा सम्मान गरिएको हो । उक्त समारोह सोमबार, २०८३ श्रावण ४ गते, काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएको थियो ।
समारोहमा देशभरबाट ब्रोंज, सिल्भर तथा गोल्ड अवार्ड प्राप्त गर्ने युवाहरूलाई उनीहरूको मेहनत, लगनशीलता, आत्मविकासप्रतिको प्रतिबद्धता तथा सामुदायिक सेवामा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । विश्वव्यापी रूपमा मान्यता प्राप्त द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड युवा विकासमा केन्द्रित कार्यक्रम हो । यसले युवाहरूलाई नयाँ सीप सिक्न, शारीरिक रूपमा सक्रिय रहन, सामुदायिक सेवामा योगदान दिन तथा साहसिक गतिविधिमार्फत नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्न प्रेरित गर्दछ । ब्रोंज अवार्डलाई सहभागीहरूको अनुशासन, निरन्तर प्रयास र आत्मविकासको यात्रामा हासिल गरिएको महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ ।
विद्यार्थीहरूको उपलब्धिप्रति खुशी व्यक्त गर्दै द ब्रिटिस मोडल कलेज व्यवस्थापनका तर्फबाट अरुणले विद्यार्थीहरूको मेहनत, समर्पण र प्रतिबद्धताले सम्पूर्ण कलेज परिवारलाई गौरवान्वित बनाएको बताए । उनले यस सफलताले अन्य विद्यार्थीलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिए । 
यस उपलब्धिसम्म विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन तथा निरन्तर सहयोग पु¥याउने राजन कुमार राईप्रति कलेजले विशेष आभार व्यक्त गरेको छ । द ब्रिटिस मोडल कलेजले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासलाई पनि समान प्राथमिकता दिँदै आएको जनाएको छ । कलेजले विद्यार्थीहरूलाई कक्षाकोठामा सीमित नराखी द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड जस्ता सहपाठ्यक्रम, नेतृत्व विकास तथा चरित्र निर्माणका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन प्रोत्साहित गर्दै आत्मविश्वासी, सक्षम र समाजप्रति उत्तरदायी नेतृत्व निर्माणमा योगदान पु¥याउँदै आएको छ ।
उल्लेखनीय छ, द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड १४ देखि २४ वर्ष उमेर समूहका युवायुवतीका लागि सञ्चालन हुने अन्तर्राष्ट्रिय आत्मविकास कार्यक्रम हो । यो कार्यक्रमले युवाहरूमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, आत्मविश्वास तथा जीवनोपयोगी सीप विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।