आइतबार, १४ भदौ २०८३
आइतबार, १४ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ १४ । बाढीका कारण गम्भीर संकटमा परेको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा उद्धार तथा क्षति न्यूनीकरणको प्रयास जारी रहेकै बेला आइतबार बिहान पुनः बाढी आएको छ।
आइतबार बिहान करिब ४ बजे आएको नयाँ बाढीका कारण त्रिशूली नदीको जलसतह अचानक करिब ५ देखि १० मिटरसम्म बढेको बताइएको छ। नदीको सतह बढेसँगै आयोजना क्षेत्रको किनारमा तीव्र कटान सुरु भएपछि जोखिम थप बढेको छ।
रातभर उद्धार तथा निगरानीमा खटिएको टोलीले बिहान आएको बाढीपछि पनि उच्च सतर्कता अपनाएको छ। सरकारले आयोजना क्षेत्रमा भएको समग्र क्षतिको अवस्था बुझ्न तथा जोखिमयुक्त क्षेत्रको स्थलगत अवलोकनलाई प्राथमिकता दिएको छ।
बाढी र पहिरोका कारण थुप्रिएको माटो तथा लेदो हटाउन डोजरलगायत भारी उपकरण पुनः परिचालन गर्ने तयारीसमेत तीव्र पारिएको छ। तर आयोजना क्षेत्रसम्म पुग्ने सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा उद्धार तथा उपकरण व्यवस्थापनमा थप चुनौती देखिएको छ।
सडक पहुँच अवरुद्ध भएपछि सरकारले हेलिकप्टरमार्फत विशेष उद्धार टोली अर्थात् ‘स्पेशल फोर्स’ परिचालन गर्ने तयारी गरेको छ। पहिरो तथा माटोले पुरिएको सुरुङमार्ग (टनेल) को पोर्टल र पावर हाउससँग सम्बन्धित महत्वपूर्ण उपकरण सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार टोलीलाई हेलिकप्टरमार्फत घटनास्थल नजिकै उतार्ने तयारी भइरहेको छ।
आयोजना क्षेत्रमा रहेका १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर, सेटअप बक्सलगायतका महत्वपूर्ण विद्युतीय तथा निगरानी उपकरणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयाससमेत गरिने भएको छ।
लगातारको बाढी र पहिरोका कारण आयोजना क्षेत्रमा थप क्षति हुन सक्ने जोखिम रहेकाले उद्धार, निगरानी र क्षति न्यूनीकरणका कामलाई समन्वयात्मक रूपमा अघि बढाइएको छ।