logo-image

बिहिबार, ०७ साउन २०८३

फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

बिहिबार, ०७ साउन २०८३ · समसामयिक

फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

काठमाडौं, साउन ७ । पर्यटकीय नगरी पोखराको फेवातालमा डुंगा सयर गर्ने पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले चालकहरूको मादक पदार्थ तथा लागुऔषध सेवन (मापसे/लापसे) सम्बन्धी विशेष जाँच अभियान शुरु गरेको छ । 
जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा फेवातालका विभिन्न घाटमा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो  । पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित बाराहीघाट क्षेत्रमा सञ्चालित उक्त अभियानका क्रममा ३२ जना डुंगा चालकको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा तीन जना चालकले लागुऔषध गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक (डिएसपी) नमराज भट्टराईकाअनुसार पक्राउ परेका चालकहरूमाथि आवश्यक अनुसन्धान र कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । डिएसपी भट्टराईले पर्यटक तथा सर्वसाधारणको सुरक्षा प्रहरीको प्राथमिकतामा रहेको बताउँदै आगामी दिनमा पनि यस्ता निगरानी र चेकजाँचलाई निरन्तरता दिइने जानकारी दिनुभया । 
उहाँले भन्नुभयो, ‘डुंगाबाट हुनसक्ने सम्भावित दुर्घटना र क्षति न्यूनीकरण गर्न तथा मापदण्ड अनुसार व्यवसाय सञ्चालन भए÷नभएको सुनिश्चित गर्न हामीले यो कदम चालेका हौँ ।’ 
फेवातालका विभिन्न आठवटा घाटमा फेवा डुंगा व्यवसायी समितिसँग आवद्ध सात सयभन्दा बढी डुंगाहरू सञ्चालनमा छन् । बेलाबेलामा हुने मानवीय हेलचेक्रयाइँ र भवितव्यका कारण तालमा दुर्घटना हुने गरेकाले प्रहरीले सक्रियता बढाएको हो । यसैबीच, फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले प्रहरीको यस अभियानलाई सकारात्मक भन्दै स्वागत गर्नुभयो । लागुपदार्थ सेवन गरेर डुंगा चलाउनु सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुने र यसले पर्यटन क्षेत्रमा समेत नकारात्मक सन्देश जाने उहाँको भनाइ छ ।  
यद्यपि, प्रशासनले साँझ ६ बजेपछि डुंगा सञ्चालनमा रोक लगाउने निर्णय गरेकोप्रति भने व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष गिरीले आफ्ना डुंगाहरू सुरक्षित रहेको दाबी गर्दै चालक र लाइफ ज्याकेट बिना कुनैपनि पर्यटकलाई तालमा नपठाइने प्रतिवद्धता जनाउनु भयो । उहाँले व्यवसायी र प्रशासनबीच समन्वय गरेर सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल