logo-image

मङ्गलबार, २७ असोज २०८३

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक जिम्मेवारीमा रोक

मङ्गलबार, २७ असोज २०८३ · राजनीति

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक जिम्मेवारीमा रोक

 

काठमाडौं, असोज २७ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारसँग सम्बन्धित सार्वजनिक भएका आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले यस विषयमा सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार, सुनारसँग सम्बन्धित समाचार तथा सार्वजनिक भएका सामग्रीमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषय उल्लेख भएकाले पार्टीले यसलाई गम्भीर रूपमा लिएको छ।

विज्ञप्तिमा छानबिन प्रक्रिया प्रभावित नहोस् र पार्टीको नीतिगत मर्यादा कायम रहोस् भन्ने उद्देश्यले छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदीय जिम्मेवारीमा सहभागी नहुन निर्देशन दिइएको उल्लेख छ।

रास्वपाले सार्वजनिक भएका विषयमा सम्बन्धित राज्य निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै विज्ञप्तिमा कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिइने स्पष्ट पारिएको छ।

पार्टीले आन्तरिक छानबिन तथा कानुनी प्रक्रियाबाट प्राप्त हुने निष्कर्षका आधारमा आवश्यक कदम चालिने जनाएको छ।

 

 

 

ताजा समाचार