logo-image

बुधबार, १३ साउन २०८३

सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने

बुधबार, १३ साउन २०८३ · समसामयिक

सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने

काठमाडौं, साउन १३ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा विद्यमान असहज परिस्थितिलाई सामान्यीकरण गर्न र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलहरू एकमत रहेको बताउनुभएको छ । 
बुधवार सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । बैठकमा भएका छलफलका बारेमा जानकारी दिँदै लामिछानेले वर्तमान घटनाक्रमका विषयमा राजनीतिक दलहरूको दृष्टिकोण र मार्गनिर्देशन तय गर्न शिर्ष नेताहरूबीच संवाद भएको बताउनु भयो । सरकारको उपस्थिति र जिम्मेवारीका सम्बन्धमा उठाइएका प्रश्नहरूको जवाफ दिँदै उहाँले यो बैठक विशेषगरी राजनीतिक दलहरूले आफ्नो धारणा बनाउन र सरकारको ध्यानाकर्षण गराउन आयोजना गरिएको स्पष्ट पार्नुभयो । सुनसरी लगायतका जिल्लामा हालै भएका प्रदर्शन र दुई युवकको ज्यान गएको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै उहाँले घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनुभयो । 
उहाँले भन्नुभयो, ‘नागरिकको ज्यान जानु अत्यन्त गम्भीर विषय हो, यसमा सुरक्षा निकाय जिम्मेवार हुनुपर्दछ । अहिले विभिन्न अफवाह र भ्रमहरू पनि फैलिरहेका छन्, त्यसैले अनुसन्धानको निष्कर्ष नआउन्जेल हतारमा टिप्पणी गर्नु उचित हुँदैन । कुनैपनि परिस्थितिमा साम्प्रदायिक सद्भाव खलबलिने, एक समुदायले अर्को समुदायप्रति घृणा वा द्वेष फैलाउने र आक्रमण गर्ने जस्ता गतिविधि हुनु देशका लागि हानिकारक छ । यस्ता संवेदनशील विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ भन्ने महशुस गरी चाँडै नै सबैको तर्फबाट एउटा संयुक्त अपिल सार्वजनिक गरिनेछ ।’
विगतका आन्दोलन र वर्तमान परिस्थितिको तुलना गर्दै सभापति लामिछानेले अहिलेको प्रमुख दायित्व शान्ति सुव्यवस्था र आपसी सद्भाव कायम गर्नु रहेको बताउनु भयो । उहाँले आरोप–प्रत्यारोपमा उत्रिनुभन्दा पनि जिम्मेवार भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल