सोमबार, १५ भदौ २०८३
सोमबार, १५ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ १५ । भोटेकोशी नदीमा आएको भिषण बाढीमा परी बेपत्ता भएकाहरूको खोजतलास र पहिचान जटिल बनेपछि नेपाल प्रहरीले डीएनए परीक्षणको प्रक्रिया सुरु गरेको छ। बाढीमा हराइरहेका नेपाली तथा विदेशी नागरिकका फेला परेका शव तथा शरीरका भागहरूको पहिचान निश्चित गर्न प्रहरीले पीडित परिवारसँग रगतको नमुना माग गरेको हो।
पहिलो दर्जाका आफन्त (बाबु, आमा, छोरा वा छोरी) मध्ये कम्तीमा एक जनाको ताजा रगतबाट मात्र डीएनए मिलान सम्भव हुने भएकाले नजिकका नातेदारलाई प्रहरी अस्पताल महाराजगञ्ज वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आह्वान गरिएको छ। दुई प्रति पासपोर्ट साइजको फोटोसहित नमुना दिन सकिनेछ।
विदेशमा रहेका आफन्तको हकमा भने सम्बन्धित देशमै डीएनए प्रोफाइलिङ गराई त्यसको सफ्टकपी नेपाल प्रहरीको आधिकारिक इमेल (dnacodis@nepalpolice.gov.np) मा पठाउन सकिने व्यवस्था मिलाइएको छ। घटनाबारे थप जानकारी वा समन्वयका लागि सम्पर्क अधिकृत प्रहरी निरीक्षक शम्भुबहादुर के.सी. (९८४१६१६०९५) लाई तोकिएको छ।
