शनिबार, ३१ असोज २०८३
सोमबार, ०१ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ १ । वैयक्तिक गोपनीयता हननको मुद्दामा प्रहरी हिरासतमा रहेका ‘जनआस्था साप्ताहिक’ का सम्पादक किशोर श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि थप ४ दिन थुनामा राख्न अनुमति दिएको छ।
प्रहरीले अनुसन्धान पूरा नभएको भन्दै म्याद थपका लागि सोमबार उनलाई अदालतमा उपस्थित गराएको थियो। यसअघि अदालतले उनलाई ३ दिनको म्याद दिएकोमा उक्त अवधि सकिएपछि प्रहरीले फेरि थप समय मागेको हो।
गत बुधबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरेको थियो।
उता, आफ्नो गिरफ्तारीलाई गैरकानुनी भन्दै श्रेष्ठका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट माथि आजै सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। यसका लागि सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको छ।