सोमबार, १२ असोज २०८३
सोमबार, १२ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज १२ । नेपाल प्रहरीले आउँदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ ।
सोमवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा आगामी चाडपर्वमा यात्रुहरू ठगिन नपाऊन् र सवारी दुर्घटना न्युनिकरण होस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्न लागेको जानकारी दिइएको हो । प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल जंग शाहले टिकटमा हुने कालोबजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी बढाउने जानकारी दिनुभयो । डीएसपी शाहकाअनुसार सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थिति रहनेछ भने भाडादरसम्बन्धी विवाद तत्काल समाधान गर्न यातायात व्यवस्था विभागका प्रतिनिधिलाई पनि सहभागी गराउन प्रश्ताव गरिएको छ । सहायता कक्षमा सबै गन्तव्यको भाडादर स्पष्ट रूपमा राखिनेछ, जसले यात्रु र यातायात व्यवसायीबीच हुने विवाद कम गर्ने अपेक्षा गरिएको छ ।
टिकट बुकिङलाई थप व्यवस्थित र विश्वसनीय बनाउन काउन्टरमा बस्ने कर्मचारीको आधिकारिक परिचयपत्र अनिवार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । यसले टिकट काट्ने व्यक्ति कुन समितिसँग आवद्ध छ भन्ने स्पष्ट हुने र कुनै समस्या आएमा अनुगमन गर्न सहज हुने प्रहरीको भनाइ छ ।
सवारी दुर्घटना न्युनिकरणका लागि ‘क्यू–फ्री’ प्रणालीमा परिवर्तनको खाँचो औंल्याउँदै शाहले सोही मार्गमा अभ्यस्त चालकहरूलाई मात्र खटाउन सुझाव दिनुभयो । यदि अपरिचित मार्गमा नयाँ चालक पठाउँदा सडकको खाल्डाखुल्डी र मोडबारे जानकारी नहुँदा दुर्घटना हुने सम्भावना बढी हुन्छ ।
उहाँले भन्नुभयो, ‘बढी भाडा असुल्ने, टिकटबिना यात्रु बोक्ने वा एउटै सिटको टिकट दुई–तीन जनालाई विक्री गर्ने जस्ता समस्या अनुगमन गर्न नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिनेछ । त्यहाँ नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागका प्रतिनिधि रहने व्यवस्था भए यात्रुका समस्या तत्काल समाधान गर्न सहज हुनेछ । सहायता कक्षमा सबै गन्तव्यको भाडादर स्पष्ट रूपमा राखिदिँदा यात्रु र यातायात व्यवसायीबीच हुने विवाद पनि कम हुन्छ । साथै, टिकट काट्ने व्यक्तिको परिचयपत्र र सम्बन्धित समितिको विवरण स्पष्ट हुने व्यवस्था गरिएमा ट्राफिक प्रहरीलाई पनि अनुगमन गर्न सहज हुनेछ । दुर्घटना न्युनिकरणका लागि क्यु फ्री गर्दा सम्बन्धित गन्तव्यमा नियमित चल्ने बसलाई नै प्राथमिकता दिनुपर्छ । उदाहरणका लागि, झापा जाने बस झापाकै र पोखरा जाने बस पोखराकै रुटमा चलाउँदा चालकलाई बाटोको अवस्था, घुम्ती तथा जोखिमयुक्त स्थानबारे राम्रो जानकारी हुन्छ र दुर्घटनाको जोखिम कम गर्न सकिन्छ । दशैँको समयमा सबैभन्दा बढी जाम हुने कलंकीदेखि नागढुंगासम्मको क्षेत्रमा उपलब्ध जनशक्तिलाई अधिकतम रूपमा परिचालन गरी ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनेछौँ ।’
दशैँको समयमा सबैभन्दा बढी सवारी चाप हुने कलङ्की–नागढुङ्गा खण्डलाई लक्षित गर्दै प्रहरीले विशेष रणनीति तयार पारेको छ । चाडपर्वको ४ दिन अगाडिदेखि हुने अत्यधिक ट्राफिक दबाबलाई व्यवस्थापन गर्न उपलब्ध जनशक्तिलाई अधिकतम परिचालन गरिने प्रतिवद्धता पनि उहाँले जनाउनु भयो ।