सोमबार, १२ असोज २०८३
सोमबार, १२ असोज २०८३ · राजनीति
काठमाडौं, असोज १२ । सांसदहरूले मुलुकको पछिल्लो भू–राजनीतिक अवस्था, जलवायु परिवर्तनका प्रभाव र जनसरोकारका दैनिक मुद्दाहरूलाई प्रमुखताका साथ उठाएका छन् ।
सांसदहरूले बाढीपीडितको उद्धार, सार्वजनिक यातायातमा महिला सुरक्षा, लागुऔषध नियन्त्रण र दीर्घकालीन पूर्वाधार विकासका लागि सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेका हुन् । प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसद अनुष्का श्रेष्ठले जलवायु परिवर्तनका सन्दर्भमा प्रधानमन्त्रीको संयुक्त राष्ट्र संघको महासभामा भएको सम्बोधनको प्रशंसा गर्दै नेपालले उठाएको ‘जलवायु न्याय’ र क्षेत्रीय समन्वयको एजेन्डालाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले विज्ञान, नीति र कुटनीतिको समन्वय गर्दै स्थानीय समुदायको आवाजलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।
सांसद अमृता विकले आफ्नो निर्वाचन क्षेत्रमा अविरल वर्षाका कारण भएको क्षति र विस्थापितहरूको दयनीय अवस्थाबारे सदनलाई जानकारी गराउनु भयो । उहाँले पीडितहरू जोखिमपूर्ण घरमा फर्कन बाध्य भएको भन्दै तत्काल राहत र पुनःस्थापनाको माग गर्नुभयो ।
सांसद अर्जुनकुमार कार्कीले किमाथाङ्का नाका सञ्चालन गर्न र सो सडक निर्माणलाई द्रुत बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद अम्बिकादेवी सङ्ग्रौलाले साना जलविद्युत आयोजना भन्दा ठूला बाँधसहितका बहुउद्देश्यीय परियोजनामा जोड दिनुभयो ।
शहरी जनजीवनका समस्याबारे सांसद अप्सना बानुले पार्किङ व्यवस्थापनमा देखिएको दोहोरो मापदण्डप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले कानूनी राज्यमा कानूनको पालना दुवै पक्षबाट हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, सार्वजनिक यातायातमा महिलाको सुरक्षा र असुरक्षाको विषय सांसद अशोककुमार चौधरीले उठाउँदै महिलामैत्री ब्लु बस सेवा कार्यान्वयनको माग गर्नुभयो ।
लागुऔषध नियन्त्रणका लागि केवल पक्राउ मात्र पर्याप्त नहुने भन्दै सांसद आनन्दबहादुर चन्दले ग्लोवल स्कुल बेस्ड हेल्थ सर्भे जस्ता वैज्ञानिक अध्ययनको खाँचो औंल्याउनु भयो । सांसद अर्विन साहले चाडपर्व नजिकिँदै गर्दा बजारमा कालोबजारी रोक्न र सुशासन कायम गर्न आग्रह गर्नुभयो भने सांसद आशा झाले प्रधानमन्त्रीको भ्रमण र खोला किनारको मापदण्डबारे आफ्नो धारणा राख्दै संसद्मा उठेका विषयलाई शुन्यमा विलीन हुन नदिन आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल