सोमबार, १२ असोज २०८३
सोमबार, १२ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज १२ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान पुनः पक्राउ गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।
सांसद खतिवडा जेनजी शहीद रसिक खतिवडाकी आमा हुन्। प्रसाईंले सामाजिक सञ्जालमा शहीदको अपमान गर्दै ‘छोराको लाससँग सांसद पद साटेको’ जस्ता अवाञ्छित र भ्रामक टिप्पणी गरेको आरोप उनीमाथि छ। उक्त टिप्पणीप्रति आपत्ति जनाउँदै सांसद खतिवडाले प्रतिनिधि सभाको बैठकमै भावुक भएर विषय उठाएकी थिइन्।
आफ्नो र शहीद छोराको चरित्रहत्या हुने गरी चरित्रहीन अभिव्यक्ति दिएको भन्दै सांसद खतिवडाले साइबर ब्युरोमा किटानी उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा थप अनुसन्धानका लागि प्रहरीले प्रसाईंलाई पक्राउ गरेको हो।