बिहिबार, ३२ असार २०८३
शुक्रबार, २६ असार २०८३ · समसामयिक
काठमाडौं, असार २६ । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा शुक्रबार बिहान अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा माकलबारीका स्थानीय ४१ वर्षीय विष्णु थापा रहेका छन्।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित पाँचपोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र अग्नि नियन्त्रक यन्त्र (फायर एक्स्टिंगुइसर) गाडीमा लोड गर्ने क्रममा अचानक विस्फोट भएको प्रहरीले जनाएको छ। बिहान सडक पार गरिरहेका थापा विस्फोटको चपेटामा परेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले घटनाको पुष्टि गर्दै विस्फोटको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। घटना लगत्तै गृहमन्त्री सुधन गुरुङ स्थिति बुझ्न र मृतकको परिवारलाई भेट्न वीर अस्पताल प्रस्थान गरेका छन्।
सुरक्षामा प्रश्न: व्यस्त बस्ती र सडक किनारमा खतरनाक तथा प्रज्वलनशील सामग्रीको ढुवानी र व्यवस्थापन गर्दा अपनाउनुपर्ने न्यूनतम सुरक्षा मापदण्ड पालना नहुँदा यस्ता गम्भीर दुर्घटनाहरू निम्तिने गरेका छन्। यो घटनाले सडक सुरक्षा र ग्यास सिलिन्डर ढुवानीको प्रक्रियामाथि पुनः गम्भीर प्रश्न खडा गरेको छ।