काठमाडौं, असोज १३ । जिल्ला झापा, बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक जनालाई पक्राउ गरिएको छ ।
मिति २०८३ असोज १२ गते राति १०:३० बजे जिल्ला इलाम, रोङ गाउँपालिका–०३ घर भई हाल झापा, बिर्तामोड नगरपालिका–०५ मा डेराकोठा गरी बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा देश भारत, किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोड नगरपालिका–०५, इलाम स्टेनस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय प्रवेश गरेका थिए ।
रायले मादक पदार्थ सेवन गरी पेट्रोलसमेत बोकेर रविना मगरको कोठामा प्रवेश गरी तन्ना च्याती उनको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेका थिए । उक्त घटनाबारे प्रहरीलाई खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई गई निज रायलाई नियन्त्रणमा लिइएको हो । घटनामा घाइते रविना मगरलाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगि उपचार भइरहेको छ ।
उक्त घटनामा संलग्न दिलिप चन्द्र रायलाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।