मङ्गलबार, ०२ भदौ २०८३
मङ्गलबार, ०२ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ २ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएकाे दुर्घटनामा घाइते भएका मध्ये एकजनाकाे मृत्यु भएकाे छ ।
जिल्ला मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश, रजिष्ट्रारसहित ६ जना सवार स्कारपियो दुर्घटनामा परेको थियाे। दुर्घटनामा घाइते भएका ६ जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उच्च अदालतका रजिष्ट्रारकी श्रीमतीको मृत्यु भएको हाे ।
प्रहरीका अनुसार मिति २०८३ भदौ २ गते बिहान करिब ७:०० बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटनामा परेको हो।
दुर्घटनापछि घाइते सबैलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल लगिएको थियो। चालक र रजिष्ट्रारलाई बिहान ९ बजे थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो भने बाँकी चार जनालाई बिहान ९:१५ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
छाउनी अस्पतालमा उपचाररत रजिष्ट्रार तारादत्त बडुकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडुको बिहान १०:२९ बजे उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा स्कारपियो चालक दाङको राप्ती नगरपालिका–८ निवासी ३२ वर्षीय छुनिलाल चौधरी रहेका छन्। उनको अवस्था मध्यम रहेको र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश दाङको तुलसीपुर उपमहानगरपालिका–९ निवासी ५७ वर्षीय गोकर्ण डाँगीको अवस्था मध्यम रहेको छ। उनलाई उपचारका लागि छाउनी अस्पताल काठमाडौं पठाइएको छ।
रजिष्ट्रार बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्काल निवासी ५१ वर्षीय तारादत्त बडुको अवस्था पनि मध्यम रहेको छ। उनलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ।
त्यसैगरी तारादत्त बडुका २५ वर्षीय छोरा रितेन्द्र बडुको अवस्था मध्यम रहेको छ भने ३१ वर्षीया छोरी रिता बडुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुवै जनाको छाउनी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।
दुर्घटनामा परेको स्कारपियो घटनास्थलमै रहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भारतको बिहारस्थित मन्दिरमा भागदौडः ७ जनाको मृत्यु
२ घण्टा अगाडि
इण्डोनेसियामा शक्तिशाली भूकम्पः मृतकको संख्या ५४ पुग्यो
३ घण्टा अगाडि