शुक्रबार, १६ असोज २०८३
शुक्रबार, १६ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज १६ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रचारप्रसारलाई तामझामरहित तथा वातावरणमैत्री बनाउने जनाएको छ। पार्टीले शहरका भित्तामा पर्चा तथा पोस्टर टाँस्नेभन्दा प्रविधिको प्रयोगलाई प्राथमिकता दिने भएको हो।
महाधिवेशनको तयारीबारे जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनका उम्मेदवारलाई प्रचारप्रसारमा संयमता अपनाउन आग्रह गर्नुभयो। उहाँका अनुसार महाधिवेशनका क्रममा शहरमा प्रचार सामग्री टाँस्ने तथा अनावश्यक तामझाम गर्ने शैलीलाई निरुत्साहित गरिनेछ। उम्मेदवारहरूलाई सकेसम्म डिजिटल माध्यम प्रयोग गर्न र प्रचारप्रसारका लागि पर्चा नछाप्न आग्रह गरिएको छ।
“१५औँ महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री शहरमा टाँसिँदैन। सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरूलाई आग्रह गरिएको छ। वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ,” प्रवक्ता चालिसेले भन्नुभयो। महाधिवेशनका क्रममा डिजिटल बोर्डहरू राखिने पनि उहाँले जानकारी दिनुभयो। पार्टीले प्रचारप्रसारलाई व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यले डिजिटल प्रविधिको प्रयोगमा जोड दिएको जनाएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने पार्टीले जनाएको छ।
सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छः रामबहादुर थापा
३५ मिनेट अगाडि