शुक्रबार, ०१ साउन २०८३
शुक्रबार, ०१ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन १ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसिटी अवार्डको ११औँ संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) साउन १ गतेदेखि खुला गरिएको छ । १६ वटा अवार्ड विधामा खुला गरिएको नोमिनेसनमा प्रदेशस्तरदेखि दक्षिण एसियाली देशहरूलाई समेट्ने केही अन्तर्राष्ट्रिय अवार्डहरू पनि समावेश गरिएका छन् ।
लिभिङ विथ आइसिटीको आयोजनामा सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डको नोमिनेसन हरेक वर्ष साउन १ गतेदेखि खुला गरिँदै आएको छ । पुसको पहिलो साता आयोजना हुने ग्रान्ड फिनाले कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट २ हजारभन्दा बढीको प्रत्यक्ष सहभागिता रहने गर्दछ । आइसिटी अवार्ड सम्भवतः नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रविधि अवार्डका रूपमा परिचित छ ।
प्रविधि क्षेत्रका स्टार्टअप, इन्नोभेसन तथा प्रडक्टसँगै सरकारी तथा निजी संस्थाहरूका डिजिटल रूपान्तरणका प्रयासहरूलाई यस अवार्डका विभिन्न विधाहरूले समेट्दै आएका छन् । यसैगरी, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमार्फत राष्ट्रलाई पु¥याएको योगदानका आधारमा व्यक्तित्वहरूलाई पनि यस अवार्डले सम्मान गर्दै आएको छ ।
विगत तीन वर्षदेखि दक्षिण एसियाली देशहरूलाई लक्षित गर्दै ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड’ सञ्चालन हुँदै आएको छ भने यसै वर्षदेखि ‘एआई इन्नोभेसन साउथ एसिया आइसिटी अवार्ड’ पनि सुरु गरिएको छ । अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित वल्र्ड समिट अवार्ड र एपीक्टा अवार्डसँग पनि आइसिटी अवार्डको सहकार्य रहँदै आएको छ । अनलाइन नोमिनेसनसँगै करिब ६ महिनाको विशेष तयारीपछि आयोजना हुने ग्रान्ड फिनाले कार्यक्रमअघि सबै विधामा २५ भन्दा बढी छनोट चरण, टेलिभिजन शो, स्टार्टअप फेस्टलगायत दर्जनौँ प्रि–इभेन्टहरू आयोजना हुनेछन् । १६ वटै अवार्ड विधामा उत्कृष्ट छनोटका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका २० जना विज्ञ जुरी सदस्य रहनेछन् भने सरकारी तथा निजी क्षेत्रका १५ भन्दा बढी विशिष्ट व्यक्तिहरूको सल्लाहकार समिति गठन गरिनेछ ।
अवार्डका विधामध्ये क्याटेगोरी ‘ए’ अन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड तथा सोसल इन्नोभेसन आइसिटी अवार्ड रहेका छन्। यी विधाहरूमा प्रतिस्पर्धीहरूले स्वयं आवेदन दर्ता गर्नुपर्नेछ ।
क्याटेगोरी ‘बी’ अन्तर्गत प्रविधिमार्फत समाज र राष्ट्रका लागि पु¥याएको योगदानका आधारमा अवार्डका लागि छनोट गरिनेछ। यसअन्तर्गत पायोनियर आइसिटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड (वुमन), आन्टरप्रेनर्स आइसिटी अवार्ड तथा नेपाली डायस्पोरा आइसिटी अवार्ड रहेका छन् । यी विधाहरूमा स्वयं व्यक्ति वा अन्य कसैले पनि व्यक्तिगत विवरण उल्लेख गरी नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
यसैगरी, क्याटेगोरी ‘सी’ अन्तर्गत सरकारी तथा निजी संस्थाहरूको डिजिटल रूपान्तरण, नवीनतम प्रविधिको प्रयोग तथा त्यसका लागि गरिएका प्रयासका आधारमा नोमिनेसन लिइनेछ । यसअन्तर्गत डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी अवार्ड (इन्टरप्राइज सेक्टर) तथा डिजिटल सर्भिसेस आइसिटी अवार्ड (इमर्जिङ सेक्टर) रहेका छन् ।
यस्तै, क्याटेगोरी ‘डी’ अन्तर्गत रहेको साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड र एआई इन्नोभेसन साउथ एसिया आइसिटी अवार्डमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, नेपाल तथा अफगानिस्तानका स्टार्टअप तथा एआई कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।
यी सम्पूर्ण अवार्ड विधाहरूमा आजैदेखि अनलाइन आवेदन खुला गरिएको छ। अवार्डको आधिकारिक वेबसाइट धधध.ष्अतबधबचम.यचन मार्फत अनलाइन नोमिनेसन दर्ता गर्न सकिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिएका छन्। वेबसाइट, अनलाइन नोमिनेसन, जुरी छनौट प्रक्रियाको डिजिटल प्रणाली सिस्टम पनि आयोजकले आजै सार्बजनिक गरेको छ । पहिलो चरणअन्तर्गत नोमिनेसन अवधि भदौ १५ गतेसम्म खुला रहनेछ ।