सोमबार, ०८ असार २०८३
सोमबार, ०८ असार २०८३ · समसामयिक
काठमाडौं, असार ८ । काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित सडकमा बा. ३ ख ४६४० नम्बरको गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेकी अन्दाजी २८ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रामा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–८ करकरेस्थित सडकमा ना.६ त २५३४ नम्बरको ट्याक्टरले किचेर सोही ठाउँ बस्ने गौरीशंकर थापाकी छोरी ५ वर्षीया शान्वी थापाको आइतबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । सो स्थानमा पार्किङ गरी राखेको उक्त ट्याक्टर आफै गुड्न गई शान्वीलाई किचेर दुर्घटना भएको थियो । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।
रूपन्देहीको देबदह नगरपालिका–१० गणेश प्रतीक्षालय नजिकै सडकमा बुटवलबाट भलुहीतर्फ जाँदै गरेको लु.१४ प २९७४ नम्बरको मोटरसाइकल सोमबार बिहान दुर्घटना हुँदा चालक बर्दघाट नगरपालिका–४ घर भएका ३२ वर्षीय प्रेम सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–४ गुम्बास्थित सडकमा ग. १ क ५४६६ नम्बरको टिपर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक व्यास नगरपालिका–४ बस्ने ३६ वर्षीय चुनु श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आर्मी अस्पताल फूलबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ललितपुरको गोदावरी नगरपालिका–३ गोदावारी नयाँबाटोस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–३ शान्तीवन घर भएका ९ वर्षीय पाल्तेन तामाङको आइतबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल तथा चालकको खोजी गरिरहेको छ ।
चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक सडकमा ना. ५ ख ५८१६ नम्बरको ट्रकमा बा.प्र–०६–००४ प ७२४८ नम्बरको स्कुटर ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक सोही महानगरपालिका–२६ दिब्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र स्कुटरमा सवार सोही महानगरपालिका–२० बस्ने लमजुङ घर भएका १९ वर्षीय राजिब गुरूङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीको पोखरा महानगरपालिका–६ बुलौदीको ओरालोस्थित सडकमा ग. ९ प ९४२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका–३३ बागमारा बस्ने २३ वर्षीय बिबश मल्ल ठकुरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ ठुली वेशीस्थित वेतेनी बगरमा २ वटा टिपरको बिचमा च्यापिएर पाँचखाल नगरपालिका–४ तामाघाट बस्ने सोही नगरपालिका–८ होक्से घर भएका १९ वर्षीय देबेन्द्र तामाङको आइतबार राति मृत्यु भएको छ । उक्त स्थानमा बा.४ ख ९८२५ नम्बरको टिपर बालुवा लोड गरी ब्याक गर्ने क्रममा सोही स्थानमा रोकी राखेको बा.४ ख ९९०९ नम्बरको टिपरमा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो । बा.४ ख ९८२५ नम्बरको टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।