logo-image

आइतबार, १४ असार २०८३

नेपाल टेलिकमद्वारा सब्स्क्रिप्सनमा आधारित प्रिपेड प्याकेज सार्वजनिक

आइतबार, १४ असार २०८३ · समसामयिक

नेपाल टेलिकमद्वारा सब्स्क्रिप्सनमा आधारित प्रिपेड प्याकेज सार्वजनिक



काठमाडौं, असार १४ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि मासिक रूपमा स्वतः नवीकरण हुने नयाँ प्रिपेड प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले सेवाग्राहीलाई प्रत्येक महिना पुनः प्याकेज सक्रिय (सब्स्क्राइब) गरिरहनुपर्ने झन्झटबाट मुक्त गराउने उद्देश्यले तीनवटा नयाँ रिकरिङ प्याक सञ्चालनमा ल्याएको हो । 

नयाँ व्यवस्था अनुसार ग्राहकले एकपटक मात्र प्याकेज सक्रिय गरेपछि त्यसपछिका महिनामा मोबाइल ब्यालेन्स पर्याप्त भएमा सोही प्याकेज स्वतः नवीकरण हुनेछ । नेपाल टेलिकमले ३० दिनको अवधि रहने तीन प्रकारका प्याकेज उपलब्ध गराएको छ । ‘नमस्ते रिकरिङ २९९’ प्याकमा ३०० मिनेट सबै नेटवर्कमा कल गर्न मिल्ने अल–नेट भ्वाइस, जुनसुकै समयमा प्रयोग गर्न सकिने ४ जीबी डाटा, राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने २ जीबी नाइट डाटा तथा कम्पनीकै नेटवर्कमा पठाउन सकिने २० वटा अन–नेट एसएमएस उपलब्ध हुनेछ ।

त्यस्तै ‘नमस्ते रिकरिङ ४९९’ प्याकमा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डाटा, ४ जीबी नाइट डाटा तथा सबै नेटवर्कमा पठाउन मिल्ने १०० वटा अल–नेट एसएमएस समावेश गरिएको छ । यस्तै ‘नमस्ते रिकरिङ ७९९’ प्याकमा सबै नेटवर्कमा असीमित कल गर्न सकिने सुविधा, प्रतिदिन १० जीबीका दरले मासिक ३०० जीबी डाटा तथा ३०० वटा अल–नेट एसएमएस उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सब्स्क्रिप्सनमा आधारित यी प्याकेज प्रयोग गर्ने ग्राहकका लागि आवश्यकताअनुसार एड–अन डाटा प्याकेज पनि उपलब्ध हुनेछ । एड–अन अन्तर्गत ३० रुपैयाँमा १ दिनका लागि १ जीबी, ५० रुपैयाँमा ३ दिनका लागि २ जीबी तथा ९९ रुपैयाँमा ७ दिनका लागि ४ जीबी डाटा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । सेवाग्राहीले ८१४१५३३ डायल गरी प्राप्त निर्देशनअनुसार यी सब्स्क्रिप्सनमा आधारित प्याकेज खरिद गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ ।

ताजा समाचार