logo-image

मङ्गलबार, २७ असोज २०८३

माउण्टेन इनर्जीद्वारा लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस शेयर प्रस्ताव, कार्तिक २० मा एजीएम

मङ्गलबार, २७ असोज २०८३ · समसामयिक

माउण्टेन इनर्जीद्वारा लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस शेयर प्रस्ताव, कार्तिक २० मा एजीएम



काठमाडौं, असोज २७ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा यति नै लाभांश वितरण गरेको थियो । कम्पनीले लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । 
आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २९.०८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको प्रति शेयर आम्दानी २५.५२ रुपैयाँ कायम भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट २० प्रतिशत बोनस दिएर पुँजी थप गर्दा पनि कम्पनीले २५ रुपैयाँभन्दा माथिको प्रति शेयर आम्दानी कायम गर्न सफल भएको छ । कम्पनीले साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले कार्तिक २० गते शुक्रबार भाटभटेनी स्थित आम्रपाली ब्यान्क्वेटमा साधारणसभा गर्ने भएको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
साधारणसभामा  वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित अन्य वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि प्रस्तुत हुनेछन्। साधारणसभाले ५ जना संचालकको निर्वाचन पनि गर्ने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार कार्तिक ९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
यस कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि नियमित लाभांश वितरण गरिरहेको छ ।  कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछि भने कम्पनीलेबोनस शेयरमा जोड दिएको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा समान १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। त्यसपछि आर्थिक वर्ष २०८१/८२ मा २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। पुँजी बढ्दै जाँदा पनि कम्पनीले लगातार चौथो वर्ष दोहोरो डिजिटको लाभांश वितरण गर्न सफल भएको छ ।
कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले  सहायक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि मार्फत ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजना निर्माण थालेको छ । आयोजनाको लागि गत साउनमा वित्तीय व्यवस्थापन सम्पन्न भईसकेको छ । 
मनाङमा निर्माण हुने यस आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रहेको छ। प्रति मेगावाट लागत २० करोड भन्दा पनि कम रहेकोले यस योजनालाई आकर्षक मानिएको छ । आयोजनामा एनएमबि बैंक र सानिमा बैंकले १०.०१ अर्ब लगानी गर्ने छन् भने बाँकी रकम प्रबर्दक कम्पनीले लगानी गर्ने छ । निर्माण थालेको ३ वर्षभित्रमा विद्युत उत्पादन थालिसक्ने कम्पनीको लक्ष्य छ ।  

ताजा समाचार